रास्वपाको समानुपातिक सूचीमा परेका पर्वतारोही मिङ्मा को हुन् ?


टुरिजम पाना काठमाडौँ । १६ पुष २०८२

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकको बन्दसूचीमा आदिवासी जनजातीको सूचीमा पर्वतारोही मिङ्मा डेभिड शेर्पाको नाम समावेश भएको छ । पर्वतारोही शेर्पा नेपाल पर्वतारोहण संघको वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष छन् ।

शेर्पाले नेपाली हिमाल आरोहणमा व्यक्तिगत कीर्तिमानभन्दा सामूहिक सफलता, जोखिमभन्दा मानवीय मूल्य र साहसभन्दा जिम्मेवारीलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उचो बनाएका छन् । सन् २०२१ मा विश्वकै जोखिमपूर्ण मानिने केटु हिमालमा विन्टर सिजनमै १० नेपाली आरोहीको टोलीसहित पहिलो पटक सफल आरोहण गर्दै उनले इतिहास रचिसकेका छन् । पहिलो पटक आरोहणपछि ६७ वर्षसम्म असम्भव ठानिएको केटुको विन्टर यामको आरोहणले नेपाली आरोहीको क्षमतालाई विश्वसामु स्थापित ग¥यो र त्यो उपलब्धि विश्व सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ बन्यो ।

हिमाल आरोहणमा निरन्तरता, सहनशीलता र कीर्तिमानको श्रृङ्खला मिङ्माको यात्राको अर्को महत्वपूर्ण पाटो हो । उनले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसकेका छन् ।

सगरमाथा र मनास्लु नौ–नौ पटक, केटु छ पटक तथा अन्य आठ हजार मिटरका हिमाल एक–एक पटक आरोहण गरेका उनले सबैभन्दा सानो उमेरमै विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमान कायम गरेका छन् । साथै, ६१ दिनमै सगरमाथा र केटु आरोहण गरेर तथा सबैभन्दा छिटो केटु आरोहण (आधार शिविरदेखि चुचुरोसम्म १४ घण्टा २२ मिनेट) पूरा गर्दै उनले एकपछि अर्को विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

व्यक्तिगत उपलब्धिसँगै मिङ्माको पहिचान मानवीय संवेदनशीलतासँग पनि जोडिएको छ । सन् २०१६ मा सगरमाथा र ल्होत्से एकैदिन आरोहण गरेर नयाँ रेकर्ड बनाउने तयारी त्यागेर उनले एक भारतीय महिला आरोहीको ज्यान बचाएका थिए । उक्त  निर्णयलाई उनी जीवनकै सबैभन्दा गर्विलो क्षण मान्छन् । सोही वर्ष उनले ‘एभरेष्ट रेस्क्यु’ टेलिभिजन कार्यक्रममा संलग्न भएर दुई महिनामा ५२ जनाको उद्धार गरेका थिए । सन् २०१५ को भूकम्पपछि आधार शिविरमै उद्धारमा सक्रिय रहँदै राहत सामग्री लिएर सिन्धुपालचोक पुग्नुले पनि उनको सामाजिक उत्तरदायित्व उजागर गर्छ ।

हिमाल आरोहणलाई व्यवसायिक र संस्थागत स्वरूप दिन मिङ्माले सन् २०१८ मा निर्मल पुर्जा (निम्स दाई) र पछि मिङ्मा तेञ्जी शेर्पासँग मिलेर ‘एलाइट एक्सपेड’ कम्पनी स्थापना गरेका छन् । उक्त कम्पनीमार्फत अन्तर्राष्ट्रिय स्तरमा हिमाल आरोहण र स्काइ डाइभिङसम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ । सन् २०१९ मा एकै वर्ष १० वटा हिमाल आरोहण गर्ने तथा ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत ६१ दिनमा १४ हिमाल चढ्ने ऐतिहासिक अभियान सफल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

पाँच महादेशका प्रमुख हिमाल अकोनकागुवा, किलिमिन्जारो, इलब्रसदेखि सगरमाथासम्म आरोहण गरिसकेका शेर्पा आज केवल कीर्तिमानी आरोही मात्र होइनन्, नेपाली पर्वतारोहणको अनुहार बनेका छन् । एभरेष्ट बैंक, स्पार्को, माउन्टेन ड्यु, क्यानोन क्यामेरालगायत अन्तर्राष्ट्रिय ब्रान्डसँग आबद्ध हुँदै उनले नेपाली शेर्पा समुदायको क्षमतालाई विश्व बजारमा चिनाएका छन् ।

१६ पुष २०८२