दिगो पर्यटन, जैविक विविधता संरक्षण र समुदाय–आधारित विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय अभियन्ता देवनारायण मण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा समेटिएका छन् । वातावरणीय संरक्षणलाई पर्यटन र स्थानीय जीविकोपार्जनसँग जोड्दै आएका मण्डलको चयनले दिगो विकासका विषय राष्ट्रिय राजनीतिमा थप मजबुत हुने अपेक्षा गरिएको छ ।
पर्यटन र वातावरणबीच सन्तुलन कायम गर्दै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने अवधारणाका पक्षधर मण्डलले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट वातावरण तथा दिगो विकास विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् । वन, वन्यजन्तु र समुदाय–आधारित संरक्षण क्षेत्रमा उनको १५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
मण्डल तराई क्षेत्रमा सर्प संरक्षण तथा सर्पदंश न्यूनीकरणसम्बन्धी अनुसन्धानका लागि परिचित छन् । मानव–सर्प सहअस्तित्व प्रवद्र्धन गर्दै उनले समुदायसँग मिलेर जनचेतना अभिवृद्धि, सर्प उद्धार, स्थानान्तरण र पुनःस्थापनाका कार्य गर्दै आएका छन् । जसले मानव जीवन र जैविक विविधता दुवैको संरक्षणमा योगदान पु¥याएको छ ।
पर्यटनको दृष्टिले संवेदनशील धनुषाधाम वन संरक्षण क्षेत्रको क्षतिग्रस्त अवस्था पुनःस्थापनामा उनको भूमिका उल्लेखनीय मानिन्छ । वन पुनःस्थापना, समुदाय सहभागिता र संरक्षण अभ्यास सुदृढ गर्दै उनले प्रकृतिमैत्री पर्यटनको आधार निर्माणमा सहयोग पु¥याएका छन् ।
मधेश प्रदेशमा वन, वन्यजन्तु तथा संरक्षणसम्बन्धी विभिन्न अनुसन्धान, अध्ययन र प्रकाशनमा मण्डलको सक्रिय सहभागिता छ । समावेशी संरक्षण अवधारणाअन्तर्गत उनले वनमा निर्भर तथा आर्थिक रूपमा कमजोर समुदायलाई वैकल्पिक जीविकोपार्जन, सीप विकास र बालशिक्षामा सहयोग गर्दै आएका छन् ।
मण्डल मधेश प्रदेशको धनुषामा स्थापना गरिएको सांस्कृतिक गाउँका संस्थापक पनि हुन् । सांस्कृतिक गाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यक्रम र सचेतनामूलक गतिविधिको केन्द्रका रूपमा विकसित हुँदै जैविक विविधता संरक्षण र सांस्कृतिक पहिचानबीचको सम्बन्धलाई मजबुत बनाउँदै आएको छ ।








