सन् २०२५ को अन्त्यसँगै पोखरा फेरि एकपटक उत्सवको सहर बनेको छ। फेवाताल किनारको लेकसाइड अहिले केवल पर्यटकीय क्षेत्र होइन, नयाँ वर्षलाई स्वागत गर्ने खुला रंगमञ्च जस्तै देखिन्छ। रङ्गीचङ्गी ध्वजापताका, सजिएका प्रवेशद्वार र झिलिमिली बत्तीले सहरको मुहार नै फेरिएको छ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भएको सडक महोत्सवले लेकसाइडलाई थप चलायमान बनाएको छ। पसल, होटल र रेष्टुराँबाट बज्ने सङ्गीत, सडकछेउका स्टलमा किनमेलको चहलपहल र पर्यटकहरूको ओहोरदोहोरले पोखराको रात अझै उज्यालो देखिन्छ।
लेकसाइडको झण्डै साढे तीन किलोमिटर सडकमा फैलिएको महोत्सव आइतबारदेखि सुरु भई बिहीबारसम्म चल्नेछ। आयोजक रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार, अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना हुँदै आएको यो सडक महोत्सव २७ औँ संस्करणमा प्रवेश गरेको छ। यस वर्ष करिब पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवलाई पोखरेलीहरूको साझा उत्सवका रूपमा विकास गरिएको अध्यक्ष पौडेलले बताए। उनका अनुसार महोत्सवमा संस्कृति, सङ्गीत र व्यवसायलाई एउटै मञ्चमा ल्याइएको छ।
महोत्सव अवधिभर मौलिक झाँकी, लोकनृत्य, पञ्चेबाजा, गुरुङ, मगर र थारू समुदायका सांस्कृतिक प्रस्तुति आकर्षण बनेका छन्। साथसाथै आधुनिक सङ्गीतिक कन्सर्टले युवा पुस्तालाई तानेको छ। बुधबार राति गोमागाने पार्कमा आयोजना हुने विशेष साङ्गीतिक उत्सवमा पोखराका चर्चित ब्यान्ड डी–मर्चा, लेकाली, देउराली र एक्स नेपथ्यले प्रस्तुति दिनेछन्।
हस्तकला सामग्री, कृषि उपज, तस्बिर तथा वृत्तचित्र प्रदर्शनीले पोखराको पहिचान झल्काइरहेका छन्। सबै उमेर समूहलाई लक्षित गरी खेलकुद र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ। वेटर्स दौड, डुङ्गा दौड जस्ता प्रतियोगिताले दर्शकको ध्यान खिचेको छ।
महोत्सवसँगै पोखराका होटल तथा रेष्टुराँहरू भरिभराउ भएका छन्। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, नयाँ वर्षको छेकोमा होटलको अकुपेन्सी ७५ प्रतिशतसम्म पुगेको छ। ‘आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल बढेको छ, विशेषगरी भारतीय पर्यटकको संख्या उल्लेख्य छ,’ उनले बताए।
हाल पोखरामा एकै रातमा करिब ४० हजार पर्यटकलाई राख्न सक्ने होटल क्षमता रहेको छ। पर्यटकको सहज आवागमनका लागि रात्रिकालीन बस सेवा सञ्चालन गरिएको छ भने लेकसाइडका डिस्को, क्लब र बार चौबिसै घण्टा खुला राखिएका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार सडक महोत्सवले सहरको पर्यटन गतिविधिलाई चलायमान बनाएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले यस्ता उत्सवले पर्यटन प्रवर्धनसँगै स्थानीय अर्थतन्त्रलाई गति दिने बताए।
सङ्गीत, संस्कृति र उत्सवको संगम बनेको पोखरा यसपटक पनि नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा उभिएको छ। सन् २०२६ को स्वागत पोखराले आफ्नै शैलीमा गरिरहेको छ—खुला सडक, खुला मन र खुला उत्साहका साथ।








