काठमाडौं । एभरेस्ट एलायन्स नेपालले “Himalayan Innovation for a Sustainable Future” भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आयोजना हुने यस समिटले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सम्पन्न सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरण गर्नेछ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत एभरेस्ट एलायन्स नेपालले पहिलो संस्करणको सफलतामा आधारित दोस्रो संस्करणको समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्थाका प्रतिनिधि, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरू एकै थलोमा भेला हुने जानकारी दिएको छ।
समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो तथा हिमाली पर्यटन अभियानहरूको भविष्यबारे उच्चस्तरीय संवादको मञ्च प्रदान गर्ने आयोजकले जनाएको छ।
सन् २०२५ मा “Honoring the Legends, Inspiring the Future” नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिट नेपालका पर्वतारोहण कार्यक्रमहरूमध्ये एक प्रभावशाली र ऐतिहासिक आयोजनाका रूपमा स्थापित भएको थियो। उक्त समिटले विश्वभरका सगरमाथा आरोही, सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्थाहरू, संरक्षण विज्ञ, पर्यटन क्षेत्रका सरोकारवाला तथा सञ्चार माध्यमलाई एकत्रित गर्दै अर्थपूर्ण नीतिगत छलफल, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण तथा विश्वव्यापी पर्वतीय संरक्षणमा नेपालको नेतृत्वलाई थप मजबुत बनाएको थियो। यही सफलताले दोस्रो संस्करणका लागि बलियो आधार तयार गरेको आयोजकको भनाइ छ।
एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ लाई केवल स्मरणात्मक कार्यक्रममा सीमित नराखी सगरमाथा आरोहीहरूको सम्मान, प्रत्यक्ष आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन तथा नैतिक र समुदाय–केन्द्रित पर्वतीय पर्यटनको प्रवर्धन गर्ने दूरदर्शी समिटका रूपमा आयोजना गर्ने लक्ष्य लिएको जनाएको छ।
एकदिने यस समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल तथा नीतिगत संवादहरू समावेश हुनेछन्। ती सत्रहरूमा हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरूको कल्याण, अभियान सुरक्षा तथा नीतिगत सुधारजस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त चुनौतीहरूमाथि छलफल गरिनेछ। साथै, सगरमाथालाई साझा विश्व सम्पदा मान्दै यसको सामूहिक संरक्षणको आवश्यकता पुनः पुष्टि गरिनेछ।
समिटका सत्रहरू सगरमाथा आरोही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ तथा संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिनेछन्। आयोजकका अनुसार, एभरेस्ट समिटियर्स समिट २०२६ मानव सहनशीलता, सहकार्य र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ, जहाँ नेपालसहित विश्वभरका आरोहण तथा संरक्षण समुदायको उल्लेख्य सहभागिता रहनेछ।
एभरेस्ट एलायन्स नेपालले सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोहण महासंघ, शैक्षिक संस्था, प्रायोजक, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई हिमालयको दिगो भविष्यका लागि यस समिटलाई ऐतिहासिक विश्वस्तरीय कार्यक्रम बनाउन सहकार्यका लागि आह्वान गरेको छ। साथै, विश्वभरका सगरमाथा आरोही तथा इच्छुक सहभागीहरूका लागि एभरेस्ट समिटियर्स समिट २०२६ मा सहभागिताको दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको जानकारी पनि दिएको छ।
एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही तथा पर्वतीय पेशेवरहरूको राष्ट्रिय सामूहिक मञ्च हो। संस्थाले सगरमाथाको विरासत संरक्षण, आरोही सुरक्षा, वातावरणीय दिगोपन, नैतिक पर्वतारोहण अभ्यास तथा विश्वव्यापी पर्वतारोहण र हिमाली संरक्षणमा नेपालको नेतृत्व सुदृढीकरणका लागि निरन्तर काम गर्दै आएको छ।








