विश्व चर्चित नेपाली क्लब ‘एलओडी’को ६ वर्ष पूरा, ६ दिन विशेष कार्यक्रम गरी मनाइँदै


टुरिजम पाना काठमाडौँ । २७ माघ २०८१

विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा पर्न सफल ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ले ६ वर्ष पुरा गरेको छ । यसै अवसरमा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउने भएको हो ।

शनिवार साँझ क्लबमा पूर्ण राई तथा दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस डिजेले प्रस्तुति दिएको क्लबका निर्देशक भूपेन कुँवरले बताए ।
उनका अनुसार ६ वर्ष ६ दिन भनेर विशेष वार्षिकोत्सव मनाइएको हो । क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको उनको भनाइ छ ।

‘रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ, ‘ उनले भने,’ हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौँ । विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन् ।’

माघ २८, फागुन १, २, ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुती गर्ने छन् । साथै फागुनको एक, दुई, आठ र नौ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने भएका छन् ।

एलओडी विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागिता रहने गर्छ ।

२७ माघ २०८१