मधेस प्रदेशको पर्यटन; सम्भावना र चुनौती


मनिस झा जनकपुर । ८ मंसिर २०७९
janakpur Mandir

पर्यटन भनेको खर्च हो । पैसा हो । आम्दानी हो । आम्दानी भनेको यहाँ घुम्न आउने मानिसहरू प्रतिदिन कति खर्च गर्छन् ? उनीहरूले कति दिन समय बिताउँछन् ? कस्ता-कस्ता पर्यटकीय गतिविधि हुन्छन् त ? हाम्रो देशको बारेमा ती मानिसहरू गएर आफ्नो देशमा के कुरा गर्छन् ? भन्ने कुरा नै पर्यटन हो ।

जनकपुरमा राम नवमी, विवाह पञ्चमी जस्ता पर्वमा लाखौँ मान्छे आउँछन् । तर त्यो टुरिजम होइन । जनकपुरका मान्छेहरू, मन्त्री, नगरप्रमुखहरू, राज्य संयन्त्रका व्यक्तिहरू, टुरिजमको लागि काठमाडौँको भन्दा धेरै मानिस हाम्रो सहरमा आउँछन् भनेर मख्ख पर्छन् । तर त्यसको आर्थिक प्रभाव के हो त ? त्यसले गर्दा कति रोजगारी सिर्जना भयो ?

हाम्रा के के उत्पादन किनेर गए ? हाम्रो ठाउँबाट उनीहरूले के सन्देश लिएर गइराखेका छन् ? यो विषय तपाईँ हेर्नुहुन्छ भने काठमाडौँ आउने २० जना पर्यटकले जति खर्च गर्छन्, जनकपुर आउने एक हजार पर्यटकले पनि त्यति गर्दैनन् ।

जस्तै तपाईँ बैँकक हेर्नुस्, एजुकेशन, इन्टरटेनमेन्ट, मेडिकल र एग्रीकल्चर । मुख्यतः यी चार दृष्टिकोणबाट मान्छे बैँकक जान्छन् । यी चार क्षेत्रलाई प्राथमिकतामा राखेर उनीहरूले बैँकक छिर्ने बाटो यति सहज र सस्तो बनाएका छन्, अनि त्यहाँ पुगेपछि मान्छेलाई इङ्गेज गराउँछन् ।

यो ठाउँहरूमा टुरिजम भनेको एकदमै ठूलो प्याकेज । जहाँ मान्छे हिँड्दै गर्दा उसले कहाँ टेक्छ, कुन ठाउँमा गएर खान्छ, कति तिर्छ ? त्यो सबै क्यालकुलेट भएको हुन्छ ।

Ramananda dwar_JAnakpur

यहाँ हाम्रो मधेस प्रदेशमा भएको टुरिजम के भयो भने मन्त्रीको कुनै आफन्तलाई वा मन्त्रीलाई कुनै ठाउँमा एउटा सानो मन्दिरको गेट बनाइदिन मन लाग्छ । सानो पोखरीको चारैतिर घाट बनाइदिन मन लाग्छ, त्यो नै टुरिजम भयो । जसले गर्दा मान्छे आएर खर्च गर्ने ठाउँ पनि छैन । इङ्गेजमेन्ट पनि छैन ।

तपाईँलाई एउटा सानो उदाहरण पस्किन्छु, म नेपाल भ्रमण वर्षको प्रदेश संयोजक हुँदै गर्दा मैले जनकपुरलाई जानकी मन्दिर मात्र होइन, अब जानकी सर्किट भन्नुपर्छ भनेर सुरु गरेँ । अहिले दिनको १० वटा फ्लाइट काठमाडौँबाट र पोखराबाट एउटा फ्लाइट गरेर जनकपुर एयरपोर्टमा ११ वटा फ्लाइट छ ।

सहर चारतिरबाट रोडले कनेक्टेड छ । ट्रेन कनेक्ट भइसक्यो । यति हुँदा पनि अब हामीले जानकी मन्दिर मात्र बेच्ने हो भने त, बिहान ७ बजेदेखि फ्लाइट सुरु हुन्छ । खाली पेट जनकपुर आउँछ, बिहान ८/९ बजे मन्दिरमा पूजा गर्छ, ११ बजे कुनै होटलमा माछाभात खाएर फर्कन्छ ।

जनकपुरले के पायो ? त्यही एक प्लेट माछाभात बेच्यो । न एयरपोर्टको आम्दानी जनकपुरलाई आउँछ, न एयरलाइन्सको । जनकपुरले त्यही एक प्लेट माछाभात बेच्यो । तर हामीले जानकी सर्किट भनेर बनाउने हो भने मान्छे यहाँ आएपछि अब जनकपुरको कथा धनुषाधामसँग जोडिन्छ ।

श्री रामले धनुषवाण भाँच्दै गर्दा एउटा टुक्रा त्यहाँ गएर बसेको भन्ने, छ त्यो अभिलेखहरू । जनकपुर घुम्न आउने पर्यटकलाई हामी त्यहाँ इङ्गेज गराउन सक्छौँ ।

जनकपुरमा राम जानकीको विवाह भएको ठाउँ भनिमण्डप भन्ने ठाउँ, जुन अहिले पनि छ । राम्रो बन्दैछ, त्यहाँ घुमाउन लैजाने । त्यसपछि मिथिला पेन्टिङहरू हेर्नलाई नारी विकास केन्द्र जानुपर्छ भनेर लिएर जान सक्छौँ । अनि साँझमा गंगा सागरमा आरती हेर्न जानुपर्छ भनेर भन्यौँ त्यो राम्रो हुनसक्छ ।

यति भइसकेपछि त्यो पर्यटक कम्तिमा एक रात जनकपुर बस्छ । केही खर्च गर्छ । दिनभरिमा उसले यहाँका धेरै ठाउँहरू घुम्छ । थोरै भए पनि अटो चलाउनेको आम्दानी बढ्नेदेखि लिएर नारी विकास केन्द्रको मिथिला पेन्टिङ पनि बिक्छ । एकदुई दिन बसिसकेपछि उसले यहाँको फुडहरू टेस्ट गर्छ ।

Mithila Chitrakala

त्यसको लागि हामीले प्याकेज बनाउन पर्छ । तर प्याकेज बनाउँदै गर्दा समस्या के छ भने, मधेस प्रदेशमा टुरिजम भनेको हस्पिटालिटी रहस्पिटालिटी भनेको पूर्वाधार मात्र हो भन्ने बुझेको छ ।

हस्पिटालिटी भनेको एटिट्युड पनि हो । व्यवहार पनि हो । तपाईँले यहाँ आउने मान्छेलाई कस्तो व्यवहार गर्नुहुन्छ, उनीहरूसँग कसरी बोल्नुहुन्छ भन्ने पनि हो ।

मान्नुस्, एउटा ठूलो होटल छ । त्यहाँ ५० वटा रुम छ । तर रिसेप्सनको मान्छेले पाहुनासँग राम्ररी व्यवहार गरिदिएन भने, होटलका कोठाहरूको राम्रोसँग सरसफाइ भएन भने, रेस्टुरेन्ट आठै बजे बन्द भयो भने, ९ बजे भोकै पुगेको कोही मान्छेले सुख्खा चाउचाउ खानुपर्छ भने त्यो टुरिजम भएन । त्यो होटल जतिसुकै ठूलो बिल्डिङ भए पनि मतलब भएन । तपाईँलाई चाहिने भनेको सर्भिस हो ।

तपाईँ कुनै होटलमा जाँदा मेन्यू हेर्नुहुन्छ । खानेकुराहरूको मूल्य हेर्नुहुन्छ र एकछिन भए पनि सोच्नुहुन्छ । दिउँसो कुनै होटलमा जाँदा तपाईँलाई १५ हजार खर्च गर्न ठूलो रकम लाग्न सक्छ । तर तपाईँ राति एलओडी जानुभयो भने तपाईँको लागि १५ हजार ठूलो रकम होइन ।

त्यतिबेला तपाईँले सर्भिस हेर्नुहुन्छ र त्यसलाई रेस्पेक्ट गर्नुहुन्छ । तपाईँको रिक्वाएरमेन्ट यति बढिसकेको हुन्छ कि त्यतिबेला तपाईँलाई पैसा म्याटर गर्दैन, सर्भिस म्याटर गर्छ, तपाईँको मुड म्याटर गर्छ ।

मधेसले अहिले यो कुरा बुझेकै छैन । ८ बजेपछि पुलिसले लखेट्न थाल्छ । ९ बजेपछि लुकेर पनि खान छाड्छन् । १० बजेपछि त तपाईँले घुस खुवाए पनि खानेकुरा पाउँदैन । अनि ठूलोठूलो बिल्डिङ बनाएर मात्रै होटल चल्छ ? मान्छे घुम्न जाने भनेको आफ्नो घरमा बिस्तारा नभएर जाने हो र ? होइन नि । इन्जोय गर्न जाने हो । सुन्दर अनुभवहरूको लागि जाने हो । नयाँ कुराहरू हेर्न जाने हो । नयाँ खाना, नयाँ सँस्कृति र चालचलन बुझ्न जाने हो ।

धन्न काठमाडौँ, पोखराको केही निश्चित ठाउँहरूमा चौबीसै घण्टा खुल्ने व्यवस्था छ । त्यो ठाउँको राजश्वको सकारात्मक नतिजालाई हामीले हेर्नसक्छौँ । बुझ्न र अध्ययन गर्न सक्छौँ । जब कर बढ्छ, व्यवस्थापनमा काम गर्न त समस्या हुँदैन नि । टुरिजम भनेको खर्च गर्ने मान्छे खोज्ने हो । जसले गर्दा हामीलाई आम्दानी (कर) र रोजगारीमा के के फाइदा हुन्छ, हाम्रा सामग्रीहरूको बिक्री कति बढ्छ भन्ने हो ।

अर्को कुरा, हामीले टुरिजम भनेको हस्पिटालिटी मात्र हो, होटल मात्र हो भन्ने बुझेको छौँ । टुरिजम भनेको होटल मात्र होइन, टुरिजम भनेको पूरा प्याकेज हो । जहाँ हामी कहाँ टेक्छौँ, त्यो टेक्ने टायलले हाम्रो खुट्टालाई कस्तो फिल दिन्छ भन्नेसमेत कुरा हो ।

मेरो एकजना आफन्तको घर भैँसेपाटीमा छ । म एकदिन त्यहाँ जाँदा सडक ढलान भइरहेको थियो । ढलान कसले गरेको हो ? भनेर सोधेँ । ‘हामी आफैँ मिलेर गर्दैछौँ । हरेक घरले ५०/५० हजार रुपैयाँ दिएको छौँ, अलिकति वडाले दिएको छ’ भन्नुभयो ।

ओहो ! कस्तो राम्रो । त्यो सुनिसकेपछि म सोच्दै थिएँ । के यसरी नै सडक जनकपुरमा बनिराखेको भए मेरो आफन्त, म वा मेरो परिवारले त्यसरी सहयोग गथ्र्यौँ त ? गर्दैन थियौँ । हाम्रो त्यो कल्चर छैन । त्यो समाजले कसरी मान्छेको सोच्ने तरिकालाई ड्राइभ गर्छ भन्ने कुराले हो समाज बन्ने ।

हाम्रो सामाजिक/राजनीतिक परिवर्तन पश्चात मधेसमा राजनीति गर्नेहरूले यहाँका राजनीतिक दलहरूले हामीलाई वा भनौँ नागरिकलाई कहिल्यै पनि तिम्रो समाजप्रतिको जिम्मेवारी के हो भन्ने कुरा बुझाउँदै बुझाएनन् । उनीहरूले हामीलाई सधैँ गुनासो गर्न सिकाए । केन्द्रसँग गुनासो गर्न सिकाए । पहाडितिर हेरेर औँला उठाउन सिकाए । मैले भन्न खोजेको स्कूलिङ र हाम्रो सोच्ने तरिका नै यस्तो भयो कि आफूले लिनुपर्ने अपनत्व बुझेनौँ हामीले ।

मैले घर अगाडि बोट बिरुवा रोप्नुपर्छ, जसले गर्दा मेरै टोल/समाज सफा हुन्छ, राम्रो देखिन्छ भन्ने सोच नै आएन । त्यही कुरा हाम्रो ऐतिहासिक धरोहरहरू, धार्मिक कुटी/गुठीहरूमा सबैमा लागू भयो ।

जानकी मन्दिरको पर्खालमा मैले पोस्टर टाँस्नु हुँदैन, मैले त्यसो गर्दा विश्व सम्पदा सूचीमा सूचीकृत भइदेओस् भनेर गरिराखेको प्रयासहरूलाई यसले असर गर्छ भन्ने सोँच छैन ।

यसो नगरौँ भनेर यो कुरा नगरप्रमुख, मुख्यमन्त्री कसैले पनि भन्दैनन् । सिकाउँदैनन् । उनीहरूले काठमाडौँका केही पहाडीहरू छन् जसले गर्दा हाम्रो जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत भइराखेको छैन भनेर मात्रै सुनाउँछन् । उनीहरूले सहजीकरण गरिदिएनन् त्यही भएर भएन भन्छन् ।

सार्वजनिक ठाउँ, सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्नुपर्छ । गलत कामको विरोध गर्नुपर्छ भन्ने चेतना भर्न सकिराखेका छैनौँ । मैले कसैलाई दुव्र्यवहार गरेँ भने, मैले फोहोर गरेँ भने, मेरो सहरको बारेमा नराम्रो सन्देश लिएर जान्छ कसैले भनेर बुझाउन सकिराखेका छैनौँ ।

कतिवटा कुराहरू हामीले हाम्रो सोसाइटीलाई सिकाइराखेका हुँदैनौँ । त्यसरी नसिकाइरहँदा त्यसको मूल्य हामीले त तिरिरहेका छौँ नै, हामी यस्तै संस्कारमा अघि बढ्दै जाँदा हाम्रो सन्ततीले भोलि झन ठूलो मूल्य चुकाउनु पर्छ ।

मेरो एकजना पोखराको साथीले छोराछोरी लिएर जनकपुर घुम्न जानुभएको रहेछ । उहाँको छोराछोरी गाडीबाट झर्न पनि मानेनन् रे । जनकपुर पुगेपछि, फोहोर देखेर । यो कुरा मैले जनकपुरबासीलाई सुनाएँ भने चोट लाग्छ ? लाग्दैन । किन कि चोट लाग्नेगरीको मुटु नै बनाइदिएको छैन । पहाडीले हाम्रो सहरलाई हेप्ने भन्या जस्तो पारिदिन्छन् ।

एकपटक मैले प्रदेश पर्यटन मन्त्रीलाई भने, मधेस प्रदेश भवन जुन छ, लगभग एक किलो मिटर लामो पर्खाल छ । त्यो पिल्लरको बीचमा ६-६ फिटको स्पेश छ । त्यो सबैमा मिथिला पेन्टिङ गरौँ । अनि त्यहाँ बत्ती बाल्ने गरौँ ।

रुखहरू रोपौँ । जसले गर्दा जनकपुर आउने मानिसहरूलाई एउटा ठाउँ थपिन्छ । मिथिला पेन्टिङ हेर्दै इभिनिङ वाक गर्ने । राम्रो देखिन्छ । यसको लागि धेरै खर्च पनि लाग्दैन । १४/१५ लाखमै यो काम गर्न सकिन्छ भनें ।

तर उहाँहरूले यो कुरै बुझ्नु भएन । जनकपुर आउँदा मान्छे थप दुई घण्टा इङ्गेज हुने र राम्रो फिल लिएर जाने एउटा ठाउँ बन्छ भन्ने कुरामा उहाँहरूलाई चासो नै छैन । तर, कुनै नेताको निर्वाचन क्षेत्रमा चाहे त्यो जङ्गलभित्रै किन नहोस् मठमन्दिर बनाउनु पर्‍यो भने ५० लाख छुट्याइदिन्छन् । हाम्रो प्राथकिता कहाँ छ त भन्ने कुरा यसले देखाउँछ ।

Gangasagar.jpg

यस्ता धेरै विषयले मधेस प्रदेशको पर्यटनमा असर गरिरहेको छ ।

भ्रमण वर्ष २०२० को प्रदेश संयोजक भएर काम गर्दा मधेस प्रदेशलाई पर्यटनको दृष्टिबाट कसरी परिवर्तन गर्न सकिन्छ भनेर केही दिन रिसर्चहरू गरेँ । प्रदेशका आठवटै जिल्लामा गएर ठाउँठाउँमा बसेँ ।

साथीभाइ भेटेर समस्याहरू के छ ? भनेर अध्ययन गरेँ । त्यो अध्ययनको क्रममा मैले बुझेको पहिलो कुरा, प्रदेशको मान्छे आफैँलाई पनि प्रदेशमा के छ ? भन्ने थाहा छैन ।

मधेस प्रदेशमा कुनकुन ठाउँहरू छ, कुन कुन ठाउँहरू घुम्ने भन्ने विषयमा तपाईँले गएर पर्साको मान्छेलाई सिरहाको बारेमा सोध्नुभयो भने भन्न सक्दैन वा तपाईँले सप्तरीको मान्छेलाई म बाराको कुन ठाउँ घुम्न जाउँ ? भन्यो भने भन्न सक्दैनन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जान्छन् तर पर्सा राष्ट्रिय निकुञ्ज पनि उस्तै सुन्दर छ भन्ने कुरा थाहा छैन ।

हाम्रो टिम आठवटै जिल्ला घुम्न गएपछि हामीले हरेक जिल्लाको ५/५ वटा गन्तव्य छानेर ४० वटा गन्तव्य लिस्ट ग¥यौँ । चालिस ठाउँ लिस्ट गरेर म एकदिन नेपाल भ्रमण वर्षको केन्द्रीय सचिवालयमा पुगेँ ।

केन्द्रीय सचिवालय पुगेपछि म भर्‍याङ चढ्दै गर्दा त्यहाँ लगभव २० वटाजति फोटो थियो । त्यसमा मिस नेपाल शृङ्खला खतिवडा लगायत सबैको फोटो थियो । नेपालको पर्यटन प्रतिनिधित्व गर्ने तर मधेस प्रदेसको एउटा पनि फोटो थिएन । जानकी मन्दिरसमेतको फोटो थिएन ।

अनि मैले संयोजक सुरज वैद्यज्यूलाई भेटेँ । भेटेपछि मैले यहाँ राखिएका २० वटा फोटोमा मधेस किन अट्दैन ? भनेर सोधेँ । मलाई थाहा छैन यो विषयमा, हाम्रो यहाँ पर्यटनविज्ञ छन् उसैले हेर्छन् भन्नुभयो । विज्ञलाई बोलाउइयो ।

मैले फोटो पाइन भन्ने उतर दिनुभयो । अनि विज्ञले फोटो पाइदैन भनेर कसरी भन्नुहन्छ ? भनेर सोध्दा खासमा म त मधेस गएकै छैन, एकपटक पनि भन्नुभयो । अनि मैले संयोजकलाई भनेँ ‘विज्ञ यस्तो हुनुहुन्छ, जो मधेस अहिलेसम्म गएकै छैन भन्नुहुन्छ । अनि तपाईँहरू मधेसमा टुरिजम विकास भएन भनेर भन्नुहुन्छ ?’

त्यसपछि मैले मधेस प्रदेशको छानिएका ठाउँहरूको फोटो उपलब्ध गराएँ तर पछिल्लो पटकहरूमा त्यहाँ जाँदा पनि यहाँको फोटोहरू देखिएन । हामीले मधेसका नागरिक, यहाँको नेतृत्व, राजनीतिक दलका नेताहरूको बारेमा कुरा गर्दैगर्दा यो पनि बिर्सिनु हुँदैन कि केन्द्रले पनि मधेसलाई हेर्ने दृष्टिकोणमा विभेद महसुस हुन्छ । खै त मधेस कहाँ अट्यो ? समस्या यतातिर पनि छ ।

पोखरा, लुम्बीनीमा टुरिजम बोर्डको अफिस छ । तर खै त मधेसमा ? अनि मधेसमा टुरिजम भएन भनेर मात्रै हुन्छ ? राज्यले गर्ने योगदान खै ? जनकपुरजस्तो ठूलो ठाउँमा तपाईँले हेर्नुभयो भने राज्यले एउटा म्यापसमेत बनाइदिएको छैन ।

जनकपुर साहित्य महोत्सवका बेला हामीले प्रस्ताव गर्यौँ, म्याप बनाउँ यही बेलामा । सबैलाई बाँडौँ । रेल्वे स्टेशन र एयरपोर्ट लगायत सबै ठाउँमा टुरिजम डेस्क राखौँ । मान्छे यहाँ आउँदैगर्दाखेरी कहाँ इङ्गेज हुने, इन्फरमेसन सेन्टर राखौँ भन्दा छैन । एउटा सहायकस्तरको कर्मचारी पठाइदिनु भएको छ । जसलाई कार्यालय कहाँ हो, अहिलेसम्म थाहा छैन । अफिस सेटअप भएको छैन ।

राज्यले पनि साँच्चिकै हेपेकोचाहिँ छ ।

जवाफ त त्यो बेला खोज्ने हो नि, जतिबेला तपाईँले प्रश्न खडा गर्ने हैसियत राख्नुहुन्छ । प्रश्न सोध्ने नैतिक धरातल नै छैन भने तपाईँले जवाफ कसरी खोज्नुहुन्छ ?

राज्यले लगानी गरेकै छैन । कार्यक्रम नै छैन । एउटा बृहत्तर जनकपुर विकास परिषद् भनेर बनाइदिएको छ । त्यहाँ गुठी संस्थानको जग्गाहरूको हरहिसाब हुन्छ । जो शक्तिमा पुग्यो, उसले त्यो फाइदा लिन्छ । त्यस्तो छ अवस्था । राज्यले जुन किसिमको एउटा योजना बनाएर काम गर्नुपर्ने हो, त्यो भएको छैन ।

अहिले तपाईँले हेर्नुहुन्छ भने, प्रति व्यक्ति दिनको ५२ डलर जस्तो खर्च गर्छन्, नेपाल आउने पर्यटकले । औषतमा १२ दशमलव एक दिन बस्छ एउटा पर्यटक । अनि हामीले मधेस प्रदेशमा कति छ त ? भनेर हिसाब गर्दा प्रतिदिन ११ डलर र बस्नेचाहिँ २ दशमलव तीन दिनमात्रै रहेछ । भनेपछि नेपालको औषतभन्दा हामी एक चौथाइ पनि छैनौँ । अनि त्यसलाई बढाउने योजना खै त सरकारको ?

केन्द्रले जबसम्म हस्तक्षेपकारी ढङ्गले काम गर्दैन, योजनाहरू बनाउँदैन तबसम्म पर्यटनको विकास होला भनेर आशा गर्नै सकिँदैन । राज्यको ध्यान यसतर्फ जान जरुरी छ ।

तस्वीरहरु: प्रभात झा

८ मंसिर २०७९