नेपाली मानार्थ नागरिक ‘पुतली बाजे’को उपचारमा देखाएन सरकारले चासो


टुरिजम पाना काठमाडाैं । ८ मंसिर २०७९
colin smith putali baje

बेलायती नागरिक कोलेन फिलिप स्मिथ अर्थात् पुतली बाजेको उपचारमा नेपाल सरकारले चासो देखाएको छैन । सरकारी बेवास्ताका कारण उपचारमा समस्या भएपछि पोखराका केही व्यक्तिहरुको व्यक्तिगत सहयोगमा उनको उपचार सुरु गरिएको इतिहास अन्वेषक सुनिल उलकले जानकारी दिए । अहिले सबै खर्च ब्यहोर्ने गरी विदेशी संस्था आइएनएफले नै स्मिथको उपचार गरिरहेको उलकले बताए ।

‘सम्मानार्थ नागरिकता दिइसकेको व्यक्ति बिरामी भएर अस्पतालमा बस्दा सरकारी निकायले चासो देखाउनु पर्ने थियो तर काेही उनकाे अवस्था साेधखाेज गर्न समेत पुगेकाे छैन । बिरामी व्यक्ति निवेदन दिँदै त हिँड्दैन । धेरैपटक कुरा राख्दा पनि सरकारले केही चासो राखेन’, उनले भने, ‘पैसा नै दिनुपर्छ भन्ने पनि होइन, भेट्न सम्म पनि कोही गएको जाँदैनन्’ ।

८६ वर्ष पुगिसकेका पुतली बाजेको पिसाब थैलीमा समस्या देखिएपछि उनी ५ महिना अस्पताल बसेर उपचार गर्नु परेको उलकले जानकारी दिए । स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएर उनी हाल पोखराको नयाँ गाउँस्थित एक चर्चमा बसिरहेका छन् ।

लामाे समयदेखि नेपाल बस्दै आएका कोलेनलाई गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले काठमाडौंमा सम्मानार्थ नागरिकता दिएको थियो । नेपालमै बसेर पुतली अध्ययन अनुसन्धानमा खटिएका स्मिथलाई नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरेर सम्मानार्थ नागरिकता दिएको हाे ।

सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका स्मिथ सन् १९६६ मा नेपाल आएका थिए । युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका उनले  मिसनमार्फत नै पोखरा, गोरखा र काठमाडौंमा शिक्षणसँगै पुतलीबारे अध्ययन अनुसन्धान  गर्ने र पुतलीकाे संग्रह पनि गर्थे ।

पढाउने सिलसिलामा नै गोरखाको अमरज्योति माविमा विज्ञान र गणित शिक्षकका रूपमा पुगेका उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटालाई पनि पढाएका थिए ।

स्मिथले सन् १९७३ देखि त्रिभुवन विश्वविद्यालयमा प्रकृति विज्ञान संग्रहालयका लागि पुतली संग्रहको काम गरेका थिए ।

विश्वविद्यालयमा काम गर्दा एक दशकको अवधिमा उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए । स्मिथले अध्ययन एवं अनुसन्धानसँगै १० वटा पुस्तक प्रकाशन गरेका छन् ।

८ मंसिर २०७९