उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी


टुरिजम पाना बागमती । २ असार २०८३

मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ ।

प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवर्द्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि उद्यमशीलता र पर्यटकीय पहिचानका रुपमा पनि जोडिन लागेको हो ।

विशेषगरी ग्रामीण परिवेशमा गाई–भैँसी पाल्ने किसानले दही जमाउनका लागि दारको ठेकी सबैभन्दा राम्रो मानिने भएका कारण पनि यसको आफ्नै विशिष्ट महत्व रहेको डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताए।

पछिल्ला समयमा गाई–भैँसीपालनको क्रम घट्दै गएको र प्लाष्टिक तथा धातुुजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा कतै यसको पहिचान नै हराउने होकि भन्ने चिन्ता बढाएको छ । दारको ठेकीको महत्वलाई उजागर गर्नकै लागि डिभिजन वन कार्यालय, हेटौँडाले विगत तीन वर्षयता दारको काठको प्रवर्द्धन गर्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रमुख चन्द्रवंशी उनका अनुसार समुदायसँगको सहकार्यमा कार्यालयले दारका बिरुवाका लागि नर्सरी, तारबारका साथै गोडमेल आदिमा सहयोग गरिरहेको छ ।

मकवानपुरको चुरेको माथिल्लो भेग, मनहरी तथा लोथरभन्दा माथिल्लो भूभागमा दारका बोट प्रशस्त पाइने उनले जानकारी दिए । पछिल्लो समय काठको ठेकीको प्रयोग र संरक्षण नहुँदा यो लोपोन्मुख अवस्थामा पुगेको थियो ।

दही जमाउने यन्त्र र प्लाष्टिक तथा धातुजन्य उपकरणको प्रयोग बढ्दै गएका कारण पनि यहाँको पहिचानका रुपमा रहेको दारको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

वर्षौंअघि देखि नै मकवानपुरमा बनाइएको दारको ठेकी काठमाडौँ, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्लामा बिक्रीका लागि पुर्याइन्थ्यो । दारको संरक्षणका लागि सरकारी प्रयासँगै पछिल्ला वर्षमा यहाँका विभिन्न सामुदायिक वनले पनि सक्रियता बढाएका छन् ।

हेटौँडा नगरपालिका वडा नं ५ स्थित पिप्ले पोखरा सामुदायिक वनले आफ्नो क्षेत्रमा दारका बिरुवा हुर्काउने अभियान सञ्चालन गरेको छ । सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम प्रदान गरिरहेको वन उपभोक्ता समितिका अध्यक्ष रामहरि चौलागाईंले जानकारी दिए ।

उनका अनुसार उक्त वनमा अघिल्लो वर्ष १५० वटा दाराका बिरुवा लगाइएको थियो । यस वर्ष थप एक सय बिरुवा थप्ने लक्ष्य रहेको उनले बताए।

‘मकवानपुरको पहिचान दारको ठेकी लोप हुने अवस्था अवस्थालाई दृष्टिगत गरी संरक्षण, प्रवर्द्धन र उपयोगका कार्यक्रम अघि बढाएका छौँ’, उनले भने, ‘पिप्ले सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम दिँदै उद्यमशीलतासँग पनि जोड्न खोजिएको छ ।’

ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही बनाउने प्रयोजनका लागि दारको ठेकी प्रयोग गर्ने गरे पनि यो क्रमशः लोपोन्मुख बन्दै गए पछि संरक्षण र उपयोगका लागि तालिमहरूमा जोड दिइएको उनले बताए ।

अन्य काठका ठेकीको तुलनामा दारको ठेकी केही महँगो पर्ने उनको भनाइ छ । पिप्ले पोखरा सामुदायिक वनअन्तर्गत महिलाहरूले ठेकीलगायत उपहारका लागि प्रयोग गरिने सामान बनाएर बिक्री गर्दै आएको उल्लेख गर्दै उनले मकवानपुरको पहिचान दारको ठेकीलाई उद्यमशीलता एवम् पर्यटनसँग पनि जोड्न खोजिएको बताए।

स्थानीय बूढापाकाका अनुसार प्राचीनकालदेखि नै मकवानपुर र आसपासका क्षेत्रमा ठेकी बनाउन दार अथवा देवदार प्रजातिका रूखको काठको प्रयोग गर्दै आइएको छ । अन्य काठको तुलनामा दारको काठ हल्का हुने र यसमा दही जमाउन सबैभन्दा राम्रो हुने भएकाले पनि सकेसम्म दार नै खोज्ने प्रचलन रहेको स्थानीयवासी रमेश थापाले जानकारी दिए ।

काठको ठेकी लोप हुँदै जाँदा यस क्षेत्रमा परम्परागत रुपमा ठेकी बनाउँदै आएका चुदाराहरूको पेसासमेत संकटमा परेको उनले बताए।

दारको ठेकी लोप हुने चिन्ताका बीच पिप्ले पोखरा सामुदायिक वनअन्तर्गतका महिला समूहले काठको ठेकीलाई उपहारका सामग्रीका रुपमा बिक्री गर्दै आएका छन् । महिला समूहले मागअनुसार ठेकी तयार गरी उपलब्ध गराउँदै आएको वनका अध्यक्ष चौलागाईंले बताए।

मकवानपुरको पहिचानलाई कायम राख्नका लागि हेटौँडा बसपार्क क्षेत्रमा दारको ठेकीको आकारको पानी ट्यांकी निर्माण गरेको छ । हेटौँडा आएका पर्यटकहरूले बसपार्कमा रहेको उक्त ठेकी आकारको ट्याङकीलाई तस्बिरमा कैद गरी लैजाने गरेका छन्।

मकवानपुरगढी गाउँपालिका वडा नं ४ मा पर्ने मनकामना मन्दिर जाने मार्गमा पनि पहिचान जोगाउन र पर्यटनसँग जोड्न दारको ठेकीसहितको पार्क निर्माण गरिएको छ ।

२ असार २०८३