मनकामना केबलकार सेवा ५० दिनकाे लागि बन्द हुने भएको छ।
केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न सेमबारदेखि केबलकार सेवा बन्द गर्न लागिएकाे हाे ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार ‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएकाे हाे ।
उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ।
यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएके मनकामना दर्शन प्रालिले जनाएको छ। मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।
केबलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ।