काठमाडौँ विश्वविद्यालयमा मानविकी संकायका विज्ञान सापकोटा दुई वर्षअघि साथीहरुसँग घुम्ने सिलसिलामा कोशी टप्पु पुगेका थिए । राति उनीहरु बाँसबाट निर्मित रिसोर्टमा बसेका थिए । तर सोही रात उनीहरु बसेको रिसोर्टमा हात्तीले आक्रमण ग¥यो । सबैको भागाभाग भयो । उनीहरु भाग्यले बाँचेको कामना गर्दै काठमाडौँ फर्किए ।
काठमाडौँ फर्केको लामो समयसम्म सापकोटालाई हात्तीले किन आक्रमण ग¥यो भन्ने कौतुहलताले भने छाडेन । उनी यसैको उत्तर खोज्दै केही समयमै झापाको बाहुँनडाँगी पुगे । उनले त्यहाँ हात्ती र मानवबीचको द्वन्द्व बुझे । किन हरेक दिन हात्तीसँग लड््दै जीवन गुजार्नुपर्छ भन्ने स्थानीयको पीडा पनि बुझे । उनले यही हात्ती र मानवबीचको अस्तित्वको लडाइलार्ई समेटेर आफ्नै निर्देशनमा ‘गणेशा–एलिफास मैक्सिमम’ वृत्तचित्र बनाए ।
वृत्तचित्रको स्क्रिप्ट समर्पण श्रीसँग मिलेर लेखे । गौरव भण्डारी र प्रशंसा कुवँरको सिनेफोटोग्राफी, मन्दीप महर्जन र विजय कुवँर थापाको सम्पादन तथा शम्भु सापकोटामा वृत्तचित्र तयार भयो । यस टिमले तयार पारेको वृत्तचित्र २१औँ संस्करणको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा धेरै दर्शकले मन पराए ।
यो वृत्तचित्रका मुख्य पात्र थिए ५२ वर्षीय शंकर क्षेत्री लुँइटेल । झापा मेची नगरपालिका–४ बाहुँनडाँगीका उनी वृत्तचित्र निर्माण टीमको अनुरोधमा काठमाडौँ आएका थिए । नत्र उनी विशेष कामबाहेक गाउँ छाड्दैनन् । बेलुकीपख हामीसँग कुरा गर्दैगर्दा घडी हेरेर उनी सुस्ताए, “हात्ती लक्सर सीमा पार गरिसक्यो होला । मलाई त कुनै दिन हात्ती देख्न र भेट्न नपाउँदा छटपटी पो हुन्छ ।”
उनको हरेक बिहान हात्तीको लस्करसँगै सुरु हुन्छ र हात्तीका पाइलाको डोब पछ्याउँदै दिन ढल्छ । सधैँ हात्तीको बाटो पहिल्याउँदै हिँड्ने उनी हात्ती देख्न नपाएका दिन मन भारी हुने सुनाए ।
उनी गाउँकै विद्यालयबाट प्राथमिक तह उत्तीर्ण गरे । बुबा बम्बबहादुरले दार्जिलिङमा अंग्रेजी पढाइ राम्रो हुन्छ भनेर कक्षा पाँचमा भर्ना उतै लगेर गरिदिए । उनले त्यहाँ स्नातकसम्मको पढाइ पूरा गरी झापा फर्किए ।
देखेको कुरा फ्याट्ट भनिहाल्ने स्वभावका उनलाई पढाइपछि जागिर नै खान्छु भन्ने सोच कहिल्यै पलाएन रे । गाउँमा त्यो बेलादेखि नै हात्तीले दुःख दिन्थ्यो । सानै छँदा एकपटक उनको पाँच बिघा खेतको मकै हात्तीले सखाप पारेको उनको मनमा अझै सम्झना छ । हात्ती र मानवबीचको द्वन्द्व देखेका उनले यही प्रश्नको उत्तर खोज्न हात्ती पछ्याउँदै हिँडेको २५ वर्ष भयो ।
उनी हरेक बिहान ४ देखि ५ बजेभित्र मेची खोला किनारमा पुगिसक्छन् । काधँमा क्यामरा भिरेर हात्तीको पर्खाइमा बसिरहँदा सिमापारबाट फोन आउँछ । लजपायुगुढी र दार्जिलिङका भारतीय नागरिकले फोनमार्फत हात्ती नेपालको गतिविधिबारे जानकारी गारउँछन् । लुँइटेल हरेक दिन कती वटा हात्ती नेपाल भित्र पसे, कुन हात्ती बिरामी छ ? बच्चा कति वटा आए ? अघिल्लो दिनमा आएको हात्ती भोलिपल्ट आयो कि आएन भन्नेबारे उनी खुब चनाखो भइ फोटोसहित जानकारी लिन्छन् ।
यसरी साँझपख नेपाल छिरेका हात्ती विहान कति हात्ती भारत गए । कुन समयमा गए भन्ने जानकारी भारतीयलाई दिन्छन् । हात्तीका कारण सिमावर्र्ती दुवै क्षेत्रबासीबीच भाइचाराको सम्बन्ध स्थापित भएको उनले सुनाए ।
हात्तीको पछि लाग्दैगर्दा परिवारले पनि ताना सुनाउँथे । “सबै साथीहरु चार पांग्रे गाडीमा गुडिसके, यो भने दिन रात हात्तीको पछि मात्रै भाग्छ, न खान न पिउनु केही छैन”, अरुले आफूप्रति भनेको कुरा उनले सुनाए । केही समयपछि त राम्रो काम गरेको भन्दै प्रसंशा र काममा सहयोग पनि गर्ने गरेको उनले बताए ।
उनको हात्तीसँग यति धेरै संगत भयो कि पाइलाको डोब हेरेर हात्ती कुन दिशातर्फ गएको हो भन्ने थाहा पाउँछन् । दिसा र पिसाब हेरेरै भाले र पोथी हात्ती छुट्याउन सक्छन् । गोबरबाट कुन समयमा हात्ती उक्त स्थानमा आइपुगेको हो भन्ने सहजै अनुमान लगाउन सक्छन् । उनलाई कसैले नागरिक वैज्ञानिक, कसैले हात्तीको नाम राख्ने पण्ण्डित, कसैले हात्ती बचाउने मान्छे पनि भनेर बोलाउँछन् ।
उनका अनुसार हात्तीले आफू हिँडेको बाटो वर्षौसम्म पनि बिर्सदैन । तर मानवबस्ती विस्तार हुँदै गर्दा हात्ती हिँड्ने बाटोमा घर बनिरहेका छन् । यसरी आफू हिँडेको डोरेटो पहिल्याउँदै कहिलेकाँही हात्ती बस्तीसम्म आइपुग्छन् र आक्रमण गर्छन् । बर्सेनि वनजंगल विनाश हुँदै गएको छ । यसरी जंगलमा हात्तीले घासँपात पाउन छोडेपछि आहाराको खोजीमा मानवबस्तीमा पस्न थालेको हो । यसमा हात्तीको कुनै दोष नभएको उनको बुझाइ छ । अहिले उनी हात्ती र मानिसको सहअस्तित्व जोगाउन कैयौँ पहल गरिरहेका छन् ।
यसबारे नेपाल सरकार र स्थानीय सरकारबाट कुनै पहल नभएको देख्दा उनी निराश छन् । सरकार झापामा आएर हात्ती र यहाँको मानिसको पीडा बुझ्न नसकेको बताउछन् । झापामा नै बसेर हात्तीबारेमा कैयौँले पिएचडीको पूरा समेत गरेका छन् । उनीहरुसँगको सहकार्यमा सरकारले समस्या समाधानमा कुनै ध्यान नदिएको उनले गुनासो छ ।
स्थानीयहरु सुरुमा हात्ती गाउँमा आउने बित्तिकै आगोको मुस्लोले आक्रमण गर्ने, पटका पड्काउने तथा करेन्ट छाडेर हात्ती तर्साउने गर्थे । हात्तीलाई भगाउन बिछ्याएको करेन्टमा आफैँ परेर कतिजनाले ज्यान समेत गुमाएका छन् । हात्तीको बाच्ने अधिकार कसरी सुनिश्चित गराउन सकिन्छ भनी उनी दिन रात खटिरहेका छन् ।
पहिले हात्तीको फोटो खिच्दा उनलाई विदेशमा फोटो पठाएर पैसा खान खोजेको भन्दै गाउँले उनीमाथि ढुङगामुढा गरेको तीतो अनुभव पनि छ उनीसँग । आफ्नो गाउँ र सिमामा देखिएका हरेक हात्तीको फोटो खिचेर उनले संकलन गरी राखेका छन् ।
लामो समय अगाडि उनको बारीमा आएर पोथी हात्तीले बच्चा जन्मायो । त्यो माउ र बच्चाको फोटो उनले खिचेका थिए । उनका एक साथीले बच्चा हात्तीको फोटो उनीसँग मागेर लगे । केही समयपछि उक्त साथीले त्यस फोटोलाई आफैंले खिचेको भनी अरुलाई बेचिदिएर धोका दिएको दुःखेसो उनी बाँड्छन् । उनले खिचेको सोही माउ हात्तीको फोटो अन्तर्राष्ट्रिय संस्था डब्लूएफओले आफ्ना फोटो संग्रहमा राखेकोमा उनी खुशी छन् ।
उनले हात्तीको शरीरको बनावट र हाउभाउअनुसार उनीहरुको नामाकरण गरेका छन् । जलथले गज, सुनौलो हात्ती, ठुटे अञ्जु गज, सेते गज, कान दुले गज, जंगे गज, एक दाह्रे सानी गज तथा घुमन्ते गजका हात्ती उनका निकटका साथी भएका छन् ।
यिनै नामको आधारमा उनी बिरामी परेको हात्तीको नाम फलानो हो भन्दै सुम्सुमाउँछन् । अनि आफूले जानेको उपचार गरिदिन्छन् । उनी हात्तीको बथानमा कुनै हात्ती देखेनन् भने फलानो नाम गरेको हात्ती खै भन्दै सोधखोज गर्न पुग्छन् ।
कुनै हात्तीको मृत्यु भएको पाउने बित्तिकै उक्त स्थानमा पुग्छन् । कुन प्रकृतीले हात्तीको मृत्यु भएको भनी सबै जानकारी लिन्छन् । अनि झापा वन डिजिभनका कर्मचारीलाई मृतक हात्तीको पोष्टमार्टमका लागि बोलाउँछन् ।
यसरी हेर्दा कुनै हात्तीलाई गोली हानेर मारिएको हुन्छ । वन्यजन्तु तस्करीहरुले ‘खाक’ (दाहा) चोर्न हात्तीलाई निकै निर्मम तरिकाले मारेको देख्दा उनी पीडाले भक्कानिन्छन् । आफ्ना अह्य पीडालाई सामाजिक सञ्जालमार्फत पोख्दै मृतक हात्तीको याचनामा उनी लेख्छन् । ‘मुक्ति देउ मुक्ति देउ । मेरो हत्यारालाई कैले कारबाही गर्ने हो’ भन्दै झापा वन कार्यालयलाई प्रश्न गर्छन् ।
उनी आफ्ना सन्तानको स्वभावभन्दा बढी हात्तीको स्वभावसँग बढी चिरपरिचित छन् । आमाबाबु, श्रीमती, एक छोरी, दुई छोरासहितको उनको परिवार साधारण तरिकाले चलिरहको छ । त्यसमा उनले खासै चिन्ता पनि लिँदैनन् ।
उनीसँग प्रत्येक हात्तीको फोेटो छ । उनी कुन हात्तीको बानी कस्तो हुन्छ भनी सबैलाई सचेत गराउँछन् । भर्खरको भाले हात्ती उन्मत्त अवस्था रहने हुँदा त्यसको रिसाह स्वभावबारे जानकारी गराउँछन् ।
अहिले स्थानीयले हात्ती बाहेक अन्य वन्यजन्तु देखा परे पनि उनलाई नै बोलाउने गरेका छन् । उनी पनि आफूले भ्याएसम्म वन्यजन्तुको उद्घार गर्छन् । उनले केही समय अघि अजिङ्गर र सालकको उद्घार गरेका थिए ।
बढ्दो शहरीकरण तथा प्लाष्टिकजन्य फोहोरले हात्तीको जीवन संकट बन्दै गएकोमा उनी चिन्तित छन् । निकुञ्ज छेउछाउ पिकनिक मनाउन जानेले गर्ने फोहोरले समस्या निम्त्याएको छ । प्लाष्टिकमा भएको नुनको गन्धले हात्तीले प्लाष्टिक खान थालेको छ । यसरी निरन्तर प्लाष्टिक खादां हात्तीलाई दीर्घकालीन असर पु¥याउने उनी बताउँछन् । अचेल प्लाष्टिकमा पाइने नुनको स्वाद खोज्दै हात्ती बजार पस्ने गरेको छ ।
अहिले बजारको डस्टविनमा भएको फोहोर खान हात्ती पल्किएको भन्दै हात्तीको अस्तित्व धरापमा पर्दै गएको उनको निष्कर्ष छ । उनी यसबारे जनचेतना जगाउन दैनिक पिँठ्युमा फोहोरको झोला बोकेर हिँड्न थालेका छन् ।
उनको एकल प्रयासबाट अहिले गाउँघरका बुढापाका तथा विद्यार्थी हात्तीको पनि बाँच्ने अधिकार मानिसको जस्तै रहेछ भन्ने कुरा बुझ्न थालेका छन् । उनी अहिले युवा पुस्ताको साथ पाउंदा निकै खुशी देखिन्छन् ।
उनलाई लामो अन्तरालमा उनलाई काम ठूलो होस् या सानो निरन्तर लागिरह्यो भने राम्रै हुँदो रहेछ भन्ने लागेको महसुस भएको छ । हात्तीको राम्रो संरक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय संस्था डब्लूएफओले ५० हजार रुपैयाँसहित गत वर्षको जेठ ५ गते उनलाई सम्मान गरेको थियो ।