ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पथ प्रदर्शकहरुलाई पुर्नताजगी तालिम दिएको छ ।
जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (सस्टेनेवल टुरिजम फर लाईभलीहुड रिकभरी प्रोजेक्ट (एसटिएलआरपी)सँग मिलेर टान गण्डकीले शुक्रबार तालिम दिएका हाे ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा एक दिने तालिम सञ्चालन गरिएके हाे । तालिममा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा संलग्न ८० जना पथ प्रदर्शकहरु सहभागी भएका थिए ।
सम्बन्धित विषयमा प्राध्यापन गर्ने दीपक बास्तोला र दीपेन्द्र पहारीले तलिममा सजहजीरकण गरेका थिए । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पथ प्रदर्शक भएर १५\२० वर्षदेखि काम गरिरहेकाहरुलाई अहिलेको समयमा अपडेट गराउन तालिम दिइएको जानकारी दिए ।
उनका अनुसार तालिममा पर्यटकलाई प्रभावकारी रुपमा गाईड गर्न म्याप रिडिङ, जिपीएस ट्रयाकिङ, पर्यटकसँग प्रभावकारी सञ्चार, आपतकालीन समयमा अप्नाउनुपर्ने सावधानी, अवैध क्रियाकलाप गर्ने पर्यटकलाई कसरी सम्झाउने र नमानेमा सुरक्षा निकायलाई जानकारी गराउने बारे सिकाइएकाे थियाे। उत्प्रेरणात्मक तालिममा उनीहरुलाई काममा थप दत्तचित्त हुनका लागि पहारीले आग्रह गरे ।
कोभिडपछि गाउँ फर्केका पथ प्रदर्शकहरु पुनः काममा फर्किन लागेका हुन्। टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले उनीहरुलाई अहिलेको परिस्थितिसँग जुध्न र कुशल पथ प्रदर्शक बनाउनका लागि तालिम दिइएको बताए ।
तालिममा सहभागी पथ प्रदर्शक गणेश दाहालले तालिममा सिकेका कुराले पथ प्रदर्शनका क्रममा उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । गण्डकीमा ट्रेकिङ गाइड गर्ने १७५ कम्पनीमा करीब ३ हजार पथ प्रदर्शक र सहयोगी रहेको टान गण्डकीले जनाएको छ ।