जमुनाको फेदैमा मनकामना…

सतिदेवीको ‘मन’ पतन भएकोले मनकामना भनिएकाे


बाबुराम बास्ताेला सङ्खुवासभा । ११ कार्तिक २०७९
jamuna ko fedaima manakama

वारी जमुना, पारी जमुना
जमुनाको फेदैमा मनकामना…

खेमराज गुरुङले गाएको यो गीत नसुन्ने नेपालमा सायदै कोही होला । तर धेरैलाई गीतमा उल्लेख गरिएको मनकामना गोरखाको मनकामना हो भन्ने लाग्न सक्छ ।

तर गीतमा भनिएको मनकामना पूर्वी पहाड सङ्खुवासभा र भोजपुरको सीमाना भएर बग्ने अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिर हो ।

बर्खायाममा वहाव बढ्दा मनकामना देवीको शिलाको वारपार नै नदी बग्ने भएकाले जमुनाको फेदैमा मनकामना भन्ने गरिन्छ । नदी तटमै शिला भएका कारण बर्खामा बगाउन सक्ने भएकाले केही मिटरमाथि मन्दिरको निर्माण गरिएको छ ।

प्रचारप्रसारको अभावमा सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट १३ किलोमिटर दुरीमा रहेको मनकामना ओझेलमा परेको छ । Manakamana mandir

मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमल गौतमका अनुसार श्री स्वस्थानी व्रत कथा अनुसार सतिदेवीको ‘मन’ यही स्थानमा पतन भएकोले मनकामना रहन गएको हो । पूर्वको मनकामनाका रूपमा परिचित यो धाममा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

मनकामना मन्दिर यातायातमा सदरमुकाम खाँदबारीबाट ३० मिनेटमा पुगिन्छ भने पैदलयात्रीलाई डेड घण्टा लाग्छ । यो क्षेत्र विश्वकै होचो अरुण उपत्यका (४५७ मिटर) मा पर्छ ।

तुम्लिङ्गटार विमानस्थलबाट ३ किलोमिटर पश्चिममा रहेको मनकामना मन्दिरसम्म पुग्न स्थानीयको प्रयासमा मन्दिरलाई सडकले जोडिएको छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले मात्रै होइन प्राकृतिक सुन्दरता, जैविक विविधता र आनुवांशिक स्रोतहरूले समेत सङ्खुवासभाको मनकामना प्रसिद्ध छ । यस क्षेत्रको प्रचारप्रसारमा जोड दिन सके प्रदेश एकमै पर्यटकको सङ्ख्या बढाउन सघाउ पुग्ने पर्यटनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।

manakamana mandir khandbari

पूर्वको मनकामना मन्दिरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माणमा सङ्घीय र प्रदेश सरकारले समेत सहयोग गर्न

आवश्यक रहेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । खाँदबारी नगरपालिकाले यो क्षेत्रको विकास र पर्यटक बढाउने प्रयास गर्ने उनको भनाइ छ । मन्दिरमा हरिबोधिनी एकादशीका दिन मेला लाग्छ ।

आसपासका पर्यटकीय गन्तव्य
पर्यटकहरू मनकामना घुम्न जाँदा वरिपरि रहेको अरुण उपत्यका, सतीघाट, विदुषी योगमायाको जलेसी (जलसमाधि) पनि भ्रमण गर्न सक्छन् । अरुण नदीमा बोटिङसमेत गर्न सकिन्छ ।

कोसेली
रुद्राक्ष, अलैंची, अल्लोबाट उत्पादित सामग्री, भोजपुरे खुकुरी, चैनपुरे करुवा यहाँको मुख्य कोसेली हो ।

कसरी पुग्ने ?
धरानबाट एक सय २३ किलोमिटरको दुरी पार गरेर मनकामना पुग्न सकिन्छ । बोलेरो जीपमार्फत जाँदा एक हजार रुपैयाँ भाडा लाग्छ । त्यहाँ जाँदै गर्दा बाटोमा भेडेटार, नमस्ते झरना, धनकुटा बजार, हिलेलगायतका ठाउँ घुम्दै जान सकिन्छ । बसोबासका लागि तुम्लिङटारमा मध्यमस्तरका होटलहरु छन् ।

 

manakamana mandir

११ कार्तिक २०७९