काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको टसलले नयाँ रूप लिएको छ । प्राधिकरणले ४५ दिनभित्रै सबै सडक बत्तीहरूको मिटर राख्न स्थानीय तहहरूलाई सूचित गरेसँगै टसलले नयाँ मोड लिएको हो । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहहरूलाई विना अनुमति बिजुलीको प्रयोग गरेर सडक बत्ती नजोड्न भनेको छ ।
सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढेको भन्दै प्राधिकरणले सडक बत्तीको विद्युत शक्तिको मापन र विद्युत खपतपछिको महसुल भुक्तानीमा झमेला आएर नोक्सानी व्यहोर्नु परेको समेत बताएको छ ।
प्राधिकरणले सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई प्राधिकरणले सडक बत्तीको महसुलको भुक्तानी यथाशीघ्र गर्न अनुरोध गरेको छ । त्यसैगरी वितरण केन्द्रहरूबाट अनुमति लिएर मात्रै सडक बत्ती जडान गर्न र जडान भइसेकका सडक बत्तीको बिजुली खपत मापन गर्न ४५ दिनभित्रै बिजुली मिटर राख्न समेत प्राधिकरणले भनेको छ ।
प्रत्येक सडक बत्तीलाई छुट्टै मिटर उपलब्ध गराउन नसकिने भन्दै प्राधिकरणले वितरण केन्द्रसँग समन्वय गरेर केबल तानेर सडक बत्ती बाल्न निर्देशन दिएको छ । नियमअनुसार सडक बत्ती नजोडेर महसुल नतिरेमा कारवाही गर्ने प्राधिकरणको चेतावनी समेत दिएको छ ।
काठमाडौं महानगरका मेयर बालेन शाह र प्राधिकरणबीच कर महशुलबारे विवाद भएको थियो । त्यतिखेर देखिकै टसललाई अहिले प्राधिकरणले नयाँ मोड दिएको स्थानीय तहहरूले बताउन थालेका छन् ।