नेपालमै बन्छन् मोटरबोट

नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनी नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक हो


टुरिजम पाना काठमाडौं । ९ कार्तिक २०७९
motor boat production in nepal, Decade International Private Limited

नदी तथा तालमा वाटर स्पोटर्सका लागि चल्ने डुंगा एवं मिनी सिपहरू नेपालमै उत्पादन हुने गरेका छन् । नवलपुरको गैंडाकोटमा नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले राइनो, फिस्टेल, किङ्गफिसर र डाँफेको नाममा ब्राण्डिङ गर्दै ४ देखि ४० सिटका मोटरबोट तथा सिपहरू बनाउने गरेको छ । सन् २०२० देखि सञ्चालनमा आएको यो कम्पनी नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक कम्पनी हो ।

जल यातायातको प्रचुर सम्भावनाबीच देशमा बढेको बेरोजगारीको समस्या कम गर्न, युवा समूहको पलायनलाई रोक्नका साथै विश्व बजारको प्रविधिलाई केही हदसम्म देशभित्रै स्थापित गर्न कम्पनी सुरू गरिएको कम्पनीका अध्यक्ष बिष्णु ढकाल बताउँछन् । bote bora company

कम्पनीले बाह्य प्रविधिलाई आत्मसात गरी नेपालमै गुणस्तरीय जल यातायातका साधन, फन पार्क तथा एम्युजमेन्ट पार्कका उपकरण, विद्यालय एवं बाल उद्यानका सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने काम गर्दै आएको छ ।

मोटरबोटहरू बनाउनका लागि दक्ष र अनुभवी व्यक्तिहरू रहेको ढकाल बताउँछन् । कम्पनीले उत्पादन गर्ने सामाग्रीहरू बिग्रिएको अवस्थामा २४ घण्टामै मर्मतका लागि प्राविधिक पुग्ने बताइएको छ । कम्पनीमा पूर्ण रुपमा ‘मेकानाइज्ड मेसिन’ र उपकरण भएका कारण पनि महिनामा सयौं डुंगा उत्पादन गर्न सक्ने ढकाल बताउँछन् ।

कम्पनी स्थापनाको इतिहास
नेपालमा मोटरबोट बनाउने कम्पनीको सुरूवात डिकेट इन्टरनेसनलको पहलमा भएको हो । सञ्चार उपकरण, नेभिगेसन उपकरण, वाकिटकीको ब्यवसाय गर्दै आएको डिकेडले विसं. २०७२ ताका विदेशबाट बोटहरू नेपाल ल्याउने काम गर्थ्यो । यसबाहेक रेस्क्यु बोटमा प्रयोग हुने आउटबोर्ड इन्जिन (ओभिएम) पनि डिकेडले नै नेपाल ल्याउँथ्यो ।

‘विद्युत प्राधिकरणले पानीको ड्याममा पनि रेस्क्युका लागि एफआरभी बोट प्रयोग गर्न टेन्डर माग्थ्यो,’ ढकाल थप्छन् ‘ यो बोट आर्मी र प्रहरीले मात्रै किन्ने गर्थे । सुरूमा त भारत र चीनबाट फाइबरको बोट नेपाल आउँथ्यो ।’

यसरी बोट आयात गरिरहेकै बेला प्रख्यात जापानिज कम्पनी सुजुकीले डिकेड इन्टरनेसनल प्रालिलाई सुजुकी मरिन ब्रान्डको मरिन इन्जिनको आधिकारिक बिक्रेता बनायो ।

काम गर्ने क्रममा बिष्णु ढकालको भेट मेकानिकल इन्जिनियर सुमन खत्री र अभिशेक कार्कीसँग भयो । खत्री र कार्की साथिहरूसँग मिलेर फाइबरका सामान उत्पादन गर्थे । उनीहरूको समूहसँग छलफल पछि नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीको स्थापना भयो ।nepal ship and boat building company

विष्णुका अनुसार सुरूमा बनाउँदा प्राविधिक त्रुटी धेरै थियो । उनी भन्छन्, ‘हामी समुद्रमा चल्ने बोटहरूमा धेरै केन्द्रित थियौं । रिसर्च एन्ड डेभलपमेन्ट टिम नेपालमा छैन, हाम्रो टिम सानो थियो । हामी कोलकोत्ता, अहमदाबाद, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया गयौं । यो बोट उत्पादन गर्ने कम्पनीहरू अवलोकन र अध्ययन गर्यौं । न्यूजिल्याण्ड पनि गयौं जहाँ नेपाल जस्तै फ्रेस वाटर रिभरमा बोट चल्दछन्, त्यसपछि समुद्रमा चल्ने बोटहरू नेपालका फ्रेस वाटर रिभरमा नहुने रहेछ भन्ने थाहा भयो ।’

यसैले गर्दा बोट बनाउनु अगाडि कहाँ, कस्तो ठाउँमा चलाउने भनेर अध्ययन गर्नुपर्छ । विष्णुको समूहले कर्णाली, कोशी, नारायणी नदीसहित धेरै तालहरूको पनि अध्ययन गरिसकेका छन् । उनी भन्छन्, ‘अध्ययन गरेर धेरै ठाउँको तथ्यांक विश्लेषण गरिसकेका छौं । धेरै समय अध्ययनमा लगानी भएको छ ।’

‘भारत र चीनबाट आयात गरिएका बोटहरू रनिङ रिभर तथा फ्रेस वाटरमा चल्ने बोट नभई समुन्द्रमा चल्ने हिसाबमा बनाइएका हुन्छन्,’ ढकाल थप्छन् ‘त्यसैले देश सुहाउँदो बोट नेपालमै उत्पादन गर्ने योजना बनाएर हामीले काम सुरू गरेका हौं । जुन कुरालाई हाम्रो बोटको गुणस्तरले प्रमाणित गरेको छ ।’ motor boat in narayani

कहाँ चल्ने र कति सिटको चल्ने भन्ने निश्चित भएपछि मात्रै बोट बन्छ । अहिले अन्य कम्पनीहरूले पनि बोट उत्पादनमा प्रयासरत छन् । तर यसका लागि पनि नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले नै प्राविधिक सहयोग गरिरहेको छ । यस कम्पनीले बनाएको बोटलाई फाइबरको मोडलिङ गर्ने मोडल पनि उनीहरूले बनाइसकेका छन् ।

अहिले ४ सिटदेखि ४० सिटसम्मका बोटको उत्पादन भइरहेको छ । यो कम्पनीले बनाएका करिब ६५ वटा बोटहरू नेपालका नदी तथा तालमा चलिरहेका छन् । बोटको सिटहरू (हल) अनुसार मूल्य स्थिर हुन्छ, तर त्यसमा राखिने इन्जिनले यसको मूल्यमा फरक पार्छ । विशेष गरी बोटको साइज तथा इन्जिनको हर्स पावरअनुसार मूल्य तोकिन्छ । अहिले धेरै चलेको फिस्टेल ब्रान्डको बोटलाई १८ देखि २५ लाख रुपैयाँ पर्छ । यो इन्जिनको हर्स पावरमा भर पर्छ ।

नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले उत्पादन गरेका बोटहरू मनोरञ्जनका लागि बढी प्रयोग भएका छन् । कोशीमा चल्ने व्यवसायिक जेट बोट मनोरञ्जनका लागि नभई यातायातका लागि प्रयोग हुन्छ ।

खासमा जल यातायात विकास गर्ने कम्पनीको योजना भए पनि नेपालमा यसलाई मनोरञ्जनका रुपमा लिइएको ढकालले बताए ।
बोट चढ्दा कस्तो हुन्छ भनेर अनुभव लिनका लागि पनि बोट चढ्नेहरू नेपालमा धेरै भएको उनी बताउँछन् ।

मेकानिकल इन्जिनियर सुमन खत्री र अभिशेक कार्की, एरोनोटिकल इन्जिनियर विष्णु ढकाल तथा ब्यबसाहि लेखनाथ पौडेल गरि ४ जना निर्देशक रहेको कम्पनी नेपालमै २०० देखि ५०० जना चड्न सक्ने पानि जहाज बनाउन तयार भएको तर यसको लागि नेपाल सरकारले पानिजहाज सम्बन्धि कानुन संसदबाट पास गर्न बाकि रहेकोले असजिलो भएको उद्यमी ढकाल बताउछन ।

माेटरबाेटहरू बनाउने नेपाल सिप एन्ड बाेट बिल्डिङ कम्पनी नवलपरासीकाे गैंडाकाेटमा रहेकाे छ । माेटरबाेट खरिदका लागि ९८५१०४४७०७ मा सम्पर्क गर्न सकिन्छ ।

९ कार्तिक २०७९