रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल ( रेवान)ले आफ्ना सदस्यहरूलाई एमआरपिमा पानीको बोटल विक्री वितरण गर्न समन्वयन गर्ने भएको छ ।
नियामक निकायसँगको छलफल तथा सहमतिअनुसार पानीको वास्तविक मूल्य भन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत अधिक हुने भएकोले होटल तथा रिसोर्टहरूले पानीको बोटलमा आफ्नै लेबल, ब्राण्ड र एमआरपि राखी विक्री वितरण गर्न सक्ने व्यवस्था गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विभिन्न चरणमा भएका बैठक र छलफलबाट उक्त व्यवस्थापनका लागि सहमति भएको होटल एसोसिएसन नेपालका महानिर्देशक साजन शाक्यले जानकारी दिए ।
उक्त बैठक पश्चात सार्वजनिक गरिएको परिपत्रमा सरकारी प्रतिनिधिहरूले नियमानुसार चाडपर्व अवधिभर नियमित ढंगबाट अनुगमन गर्ने, तर होटल तथा रिसोर्टहरूको हकमा भने अनुगमन नगरिने कुरा समेत उल्लेख गरिएको छ ।
आइतबार होटल संघ नेपालका अध्यक्ष विनायक शाह, वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डित, रेवान र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्षसहितको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री, सचिव, उद्योग विभागका महानिर्देशकबीच उक्त सहमति भएको हो ।