ओझेलमा म्याग्दीको आकर्षक ‘अर्मके झरना’: पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा


टुरिजम पाना म्याग्दी । २५ बैशाख २०८३

धवलागिरी गाउँपालिका–४ स्थित बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना पर्यटकीय सम्भावना भएर पनि आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती नजिकै अवस्थित यो झरना दुई तहमा विभाजित भएर करिब २०० मिटर उचाइबाट म्याग्दी नदीको फेदीमा झर्ने गर्दछ। अत्यन्तै आकर्षक र मनमोहक देखिए तापनि उचित व्यवस्थापन नहुँदा यो स्थान हाल सुनसान प्रायः छ।

झरनाको फेदीमा एउटा सुन्दर तलाउ र त्यसकै छेउमा प्राकृतिक तातोपानीको कुण्ड समेत रहेको छ। ५० डिग्री सेल्सियस तापक्रममा जमिनमुनिबाट निस्कने यो तातोपानीमा स्नान गर्दा चोटपटक लागेको, ग्यास्ट्रिक र छालासम्बन्धी विभिन्न रोगहरू निको हुने जनविश्वास रहिआएको छ।

हाल पर्यटकहरूले टाढैबाट झरनाको अवलोकन गर्ने र तस्बिर खिच्ने गरे पनि यहाँ पर्याप्त पर्यटकीय सुविधा पुग्न सकेको छैन।

यद्यपि, पछिल्लो समय यस क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरूले चासो देखाउन थालेका छन्। म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणसँगै अर्मके झरना नजिकै सडक पुगेकाले अब पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

वडा सदस्य हरिप्रसाद तिलिजाका अनुसार, सडक सुविधा पुगेसँगै यसलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको छ।

हाल हिउँदमा काठको अस्थायी साँघु र डाइभर्सन सडकबाट झरना तथा कुण्डसम्म पुग्न सकिने भए पनि बर्खायाममा भने कठिनाइ हुने गरेको छ।

म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने र झरनाको पानीले कुण्डका टहराहरू भिज्ने समस्या समाधान गर्नुपर्ने आवश्यकता छ।

जेल्तुङबाट निकै छोटो समयको पैदल वा सवारी यात्रामा पुग्न सकिने यस स्थललाई व्यवस्थित गर्न सके धौलागिरि हिमाल आरोहण र पदयात्रामा जाने पर्यटकहरूको बसाइ लम्ब्याउन ठूलो मद्दत पुग्ने देखिन्छ।

 

२५ बैशाख २०८३