निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो बनाउन पाँच निकुञ्जको संयुक्त बैठक


टुरिजम पाना संवाददाता काठमाडौं । ११ मंसिर २०८०

तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोवारवालाको उपस्थिति थियो।

कसरास्थित प्रकृति संरक्षण शिक्षालयमा आयोजित बैठकमा विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालालाई निर्देशन दिएका छन्।

सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ।

कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहायक रथी सुन्दरकुमार पाण्डे, नेपाली सेना नम्बर २८ बाहिनीका सहायक रथी सानुकाजी थापा, ७ नम्बर बाहिनीका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीको समेत सहभागिता रहेको थियो।

 

११ मंसिर २०८०