हवाइ खेलकुद संस्था भन्छ, ‘सम्भवतः आइतबारबाटै प्याराग्लाईडिङ सञ्चालन हुन्छ’


टुरिजम पाना काठमाडाैं । ५ कार्तिक २०७९
national sports competition Nepal, paragliding
फाइल फोटो

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाईडिङ उडानको थप सुरक्षाका लागि ५ बुँदे निर्देशनमा हवाइ खेलकुद संस्था सकारात्मक देखिएको छ ।

नवौं राष्ट्रिय खेलकुदको क्रममा पोखरामा एक जना प्यारापाइलटको मृत्यु भएपछि क्यानले बनाएको उच्च आयोग समितिका संयोजक हसंराज पाण्डे नेतृत्वको टोलीले प्याराग्लाईडिङ उडानलाई थप सुरक्षित बनाउनका लागि नेपाल हवाई खेलकुद संस्था मार्फत ५ बुँदे निर्देशन दिएको थियो ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले दिएको जानकारी अनुसार शुक्रबार सम्बन्धित निकायसँगको छलफलका क्रममा विभिन्न ५ बुँदे निर्देशन दिएको हो । क्यानले दिएका ५ बुँदे निर्देशनमा १५ दिनभित्र पाइलटको मेडिकल चेकजाँच गर्ने, व्यवसायिक उडान गर्ने ठाउँमा बाहेक अन्यत्र उडान गर्न नपाउने, प्याराग्लाईडिङ पाइलटको डेस कोर्ड एकै प्रकारको राख्ने, प्याराग्लाईडिङ उपकरणहरुको चेकजाँच गर्ने, प्यारापाइलटले सुरक्षाको लागि प्रत्येक वर्ष तालिम अनिवार्य गर्नुपर्ने लगायतका रहेका छन् ।

उक्त विषयमा निर्णय गर्न आज बसको नेपाल हवाई खेलकुद संस्थाको बैठकले आफू मातहतका सम्पूर्ण व्यवसायीहरुलाई हवाई खेलकुद संस्थाले समेत निर्देशन दिईसकेको र सम्भवतः भोलीबाट नै प्याराग्लाईडिङ उडान सञ्चालन हुने भट्टराईले बताए ।

नवौं राष्ट्रिय खेलकुदको क्रममा प्यारापाइलट खेलाडीको मृत्युपछि सुरक्षाको कारण देखाउँदै देशभर प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो ।

५ कार्तिक २०७९