चन्द्रागिरिमा नेपाली सेनाले गर्‍यो केबलकार उद्धार अभ्यास


टुरिजम पाना काठमाडौं । २६ पुष २०७९

नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी सोको पूर्व तयारी स्वरूप ‘केबलकार उद्धार अभ्यास’ सञ्चालन गरेको छ ।

चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार सेनाले थानकोटमा अभ्यासको आयोजना गरेको हो । विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई हाई लाइन रेस्क्यू तरिकाद्वारा सुरक्षित तवरले जमिनमा उतार्ने अभ्यास गरेको थियो । सो क्रममा उद्धारकर्ताहरूबाट घाइते तथा सद्दे मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरू गरिएको सेनाले जनाएको छ ।

अभ्यासमा नेपाली सेनाको तर्फबाट श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, श्री नं.१ विपद् व्यवस्थापन गण, तथा श्री युद्धभैरव गणबाट अधिकृत सहितको टोली सहभागी भएको थियो । त्यस्तै विपद् व्यवस्थापन निर्देशक सहायक रथी पदम बहादुर बुढा लगायतको उपस्थिति थियो ।

यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनको लागि योजना तयार गर्न समेत मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

२६ पुष २०७९