नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आज देखि भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्सपो (नाइट २०२४) शुरु भएको छ ।
समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा पर्यटन मेला आयाेजना गरिएको हाे । एक्सपो भोलीसम्म चल्ने छ ।
मेलाकाे उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकाको लक्ष्य रहेको बताए । यो कार्यक्रमले पनि सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै उनले भने, “ २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकार नीजि क्षेत्रसंगको सहकार्य र सहभागितामा पर्यटन प्रर्वद्धनका कार्यक्रम गर्दै जाने छ । ” आगामी वर्षको बजेटमा छुटेका विषयहरुलाई समेटेर लैजाने मन्त्री तामाङले प्रतिवद्धता व्यक्त गरेका छन्।
नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल/टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढि आगन्तुक सहित मलेशियाको मलेशिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको नाइट संस्थापक/संयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए ।
आयाेजकका अनुसार नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी हाे । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेका छन् ।
एस्क्पोमा शुक्रवार र शनिवार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समुह छलफल हुने छ ।
एक्सपोमा एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाण्डौं, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाण्डौं, रे -जिन -टा रोयल अर्किड होटल्स रहेकाे छ ।
डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेककाे सहकार्य छ