नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुईपक्षीय सम्झौता भएको छ ।
पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको हाे ।
आइबार भएकाे पत्रकार सम्मेलनमा चीनको सिचाङ स्वायत्त प्रदेशको निङची–लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले जानकारी दिएको हाे । संघका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताए
लुसाङ भ्रमणका समय उच्च पर्वतारोण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदनप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरुको उपस्थितीमा उक्त दुई देशबीच चार बुँदे सम्झौता भएको शेर्पाले जानकारी दिए ।
सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवद्र्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धि जनशक्ति उत्पादनमा जोड दिने भनिएकाे छ । सङ्घले यो सम्झौता अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो भएको ठाेकुवा गरेकाे छ ।
सम्झौता अनुरुप उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्य गर्न अन्य आपत्कालिन अवस्थामा गर्नुपर्ने उद्धारका लागि दुई पक्षबीच ‘हाइ अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ ।
नेपाल पर्वतारोहण संघ र सिचाङ स्वाशासित क्षेत्र खेलकुद महासंघबीच आरोहण संस्कृतिको प्रवद्र्धन गर्ने सहमति भएको छ । विशेषगरी दुई देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ ।
साथै, सगरमाथा लगायतका हिमालहरुको आरोहणमा जाने आरोहीहरुलाई थप सहयोगमा सहकार्य गर्ने सहमति भएको छ । आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरुका आरोहीलाई नेपाल पठाउने सहमति भएको संघले जनाएको छ ।
चीनबाट सिचाङ क्षेत्र जनसरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय, पर्यटन विभाग र सङ्घको प्रतिनिधि रहने एउटा संयन्त्रको निर्माणका लागि प्रस्ताव गरिएको उनले बताए ।
नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा अर्को वर्ष दुई देशबीच संयुक्त आरोहणका लागि प्रस्ताव गरिएको हाे । विगत वर्षमा पनि नेपाल–चाइन फ्रेण्डसिप पिकको आरोहण गरेको थियो ।