नेपाल पर्यटन बोर्डको रिक्त पदमा नियुक्ति लिन ब्यवसायीको दौडधुप


टुरिजम पाना संवाददाता काठमाडौं । २३ माघ २०८०

नेपाल टुरिजम बोर्ड (एनटीबी) मा  नियुक्ति लिन पर्यटन व्यवसायीहरूको तीव्र प्रतिस्पर्धा चलेको छ । २०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दै उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिँदै छन् ।

सोही तीन पदका लागि हाल बोर्डमा नियुक्ति लिन व्यवसायीहरूको तीव्र दौडधुप चलिरहेको हो । जसका लागि १९ जना व्यवसायीहरूको आवेदन परेको हो ।

खासगरी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र केही साना दलका प्रतिनिधिहरूले समेत बोर्ड सदस्यका लागि शक्ति केन्द्र रिझाउन लागि परेका छन् । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूले समेत बोर्ड सदस्यका लागि लबिङ गरिरहेका छन् ।

सम्भावित अनुहार मध्ये व्यवसायीहरू कमल सापकोटा, नरेन्द्र भट्ट, सिर्जना राणा, देवीकृष्ण रोकाया, देवराज जैशी, नवराज दाहाल, अभिषेक विक्रम शाह, ऋषि भण्डारी, मोहन लम्साल, खुमबहादुर सुवेदी लगायतको उम्मेदवारी छ ।

 उता पर्यटन क्षेत्रका अगुवाहरुले भने नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पर्यटन क्षेत्रको विकासलाई केन्द्रमा राख्ने क्षमतावान् व्यक्ति नियुक्ति गर्न माग गरिरहेका छन् ।  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज संस्थाले पर्यटनमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व गर्ने व्यक्ति पर्यटन क्षेत्रमा सक्रिय रहेको हुनुपर्नेमा ती संस्थाले जोड दिएका छन् । नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन एवं सकारात्मक प्रभाव ल्याउन तथा विश्व पर्यटन बजारबाट लाभ उठाउने क्षमताको व्यक्ति बोर्डको आवश्यकता भएको उनीहरुले बताएका छन् ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ दफा ९ को उपदफा ९२० को खण्ड [छ] मा पर्यटन प्रवद्र्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित निजी क्षेत्रका विशेषज्ञमध्येबाट नेपाल सरकारले दफा १० को अधीनमा रही मनोनीत गरेका पाँचजना सदस्य रहने गरी ११ सदस्यीय बोर्डको कार्यकारी समिति रहने व्यवस्था छ ।

२३ माघ २०८०