नेपालको पासपोर्टले बिना भिसा ३९ देशमा यात्रा गर्न सकिने 


टुरिजम पाना काठमाडौँ । २७ पुष २०८१

विश्वभरका मुलुकको पासपोर्टको सूचकाङ्क ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ मा उल्लेख भए अनुसार नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ । तर नेपालको राहदानीको स्तर भने अघिल्लो वर्षभन्दा खस्किएको छ । हरेक वर्ष सार्वजनिक हुने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एक औँ स्थानमा झरेको छ । अघिल्लो वर्ष सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो ।

छिमेकी मुलुक भारतको वरियतामा पनि पाँच अङ्कले घटेको छ । यस वर्ष सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ । भारतको पासपोर्टमा, बिना भिसा ५७ वटा मुलुक घुम्न पाइन्छ । अघिल्लो वर्ष भारतको वरीयता ८० औँ थियो । चीन भने सूचीको ६० औँ स्थानमा छ । चिनियाँ पासपोर्ट हुनेहरूले ८५ वटा मुलुकमा बिना भिसा जान पाउनेछन् ।

एक सय ९५ देशमा भिसा बिना नै पहुँच सुविधा भएको सिङ्गापुरको राहदानी सन् २०२५ को सूचकाङ्कमा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानी पासपोर्ट बोकेर एक सय ९३ देशमा बिना भिसा जान सकिन्छ ।

तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड, दक्षिण कोरिया र स्पेन छन् । यी देशका पासपोर्ट वाहकले १९२ मुलुक बिना भिसा घुम्न पाउँछन् ।

अमेरिका नवौँ नम्बरमा छ । उसको राहदानीले एक सय ८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।

रिपोर्ट अनुसार अफगानिस्तानको राहदानी सबै भन्दा अन्तिममा छ ।

 

२७ पुष २०८१