स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे 


टुरिजम पाना काठमाडौँ । २८ पुष २०८१

काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावरको अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डे मनोनीत भएका छन् । सञ्चालक कम्पनी वोन्डर्स नेपाल प्रालिको सातौँ वार्षिक साधारण सभाले सञ्चालक समिति पुनः गठन गर्दै सिंहलाई अध्यक्ष र पाण्डेलाई प्रबन्ध निर्देशकमा मनोनीत गरेको हो ।

सभाले सञ्चालक समिति पुनः गठन गर्नुका साथै कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने समेत प्रस्ताव पारित गरेको छ । पब्लिक लिमिटेडमा गइसकेपछि कम्पनीको साधारण शेयर निष्कासनको बाटो खुल्नेछ । त्यस अवसरमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय  विवरण समेत पारित गरिएको थियो ।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौँमा यो एक मात्र गन्तव्य हो ।  परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

स्काइवाकबाट ऐतिहासिक रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत पुग्न सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एकै पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

टावरको २५ औँ तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओछ्याइएको भुईँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।

 

२८ पुष २०८१