नेपालको आर्थिक विकासको लागि नेपाल र जापानबीचको सम्बन्ध प्रगाढ बनाउनु पर्नेमा जोड


टुरिजम पाना संवाददाता काठमाडौं । १३ श्रावण २०८०

नेपालको पर्यटन तथा समग्र आर्थिक विकासको लागि नेपाल र जापानबीचको सम्बन्धलाई थप सुमधुर बनाउनु पर्नेमा दुवै देशका प्रतिनिधिले जोड दिएका  छन् ।

जापानको विकास अभ्यासलाई अबलम्बन गर्न सके नेपालले पनि धेरै विषयमा प्रगती गर्न सकिनेमा समेत उनीहरुले जोड दिएका छन् ।

नेपाल र जापानको आपसी सम्बन्धलाई सुदृढ बनाउँदै नेपाल र जापानबिच पर्यटन तथा अन्य व्यवसायिक क्रियाकलाप बढाउने उद्धेश्यले होक्काइडो नेपाल बिजिनेस ग्रुप र जापानको ग्यास वान नेपाल प्रा.लि.को संयुक्त आयोजनामा  बुढानिलकण्ठ स्थित डेक्काइदो फार्म हाउसमा आयोजित अन्तरक्रिया तथा अखण्ड दीप प्रज्वलन कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा समाजवादीका सांसद किसान श्रेष्ठले जापानको विकासबाट नेपालले धेरै कुरा सिक्न सकिने बताए । उनले त्यहाँको प्रविधि र सीपलाई  नेपाल भित्र्याउन सके त्यसले नेपालको समग्र विकासमा नै टेवा पुग्ने बताए ।

रास्वपाका उपाध्यक्ष तथा सांसद डी.पी.अर्यालले नेपाल र जापानबीच लामो समय देखि सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै जापानको पूँजी र प्रविधि भित्र्याउन पहल गर्नु पर्ने बताए ।

यस्तै नेपाल स्थित जापानीज दुतावासका काउन्सिलर ताकाहिरो तमुराले जापान सधैं नेपालको प्रगती र हित चाहने उल्लेख गर्दै नेपालको पर्यटन तथा अन्य विकासको लागि जापाज सधैं सकारात्मक रहेको बताए ।

कार्यक्रममा जापानिज च्याम्बर अफ कमर्सका अध्यक्ष तात्सू मात्सुमोतो, गैरआवासयि नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष भवन भट्ट, ग्यास वन नेपाल प्रा.लि.का प्रबन्ध संचालक  हिडेपिमि जिन्नाई , केजीएच ग्रुपका अध्यक्ष सुनिल शाक्य लगाएतले दुवै देशबीचको सम्बन्धलाई सुदृढ गर्दै नेपालले त्यसको लाभ लिनु पर्नेमा जोड दिए ।

सो अवसरमा नेपालमा जापानको साइसान कम्पनि लिमिटेडको लगानी रहेको ग्यास वान नेपाल प्रा लि को संलग्नतामा होक्काइडो नेपाल बिजिनेस र ग्यास वान नेपालको संयुक्त प्रयासमा बुढानिलकण्ठ स्थित डेक्काइदो फार्म हाउसमा अखण्ड सान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त दीप बाह्रै २४ सै घण्टा १२ महीना नै बलिरहने  होक्काइडो नेपाल बिजिनेस ग्रुपका संचालन अर्जुन अधिकारीले जानकारी दिए  ।

होक्काइडो नेपाल बिजिनेस ग्रुप १७ वर्षसम्म जापानमा रही व्यवसायिक जिबन बिताएर नेपाली फर्की नेपालमा नै केहि गर्छु भन्ने भावनाले नेपाल फर्किएका अर्जुन अधिकारी सहितको समुहले संचालन गरेको व्यवसायिक समुह हो ।

यो समुहले सन् २०१७ देखि नेपालमा जापानिज खाना प्रर्वद्धन गर्दै काठमान्डौं बढुानिलकण्ठ, लाजिम्पाटमा होक्काइडो रामेन हाउस सहित नेपालका विभिन्न स्थानमा  ७ वटा बिभिन्न जापानिज रेस्टुरेन्टहरु संचालन गर्दै आइरहेको छ ।

यस कम्पनीमार्फत् स्थापित रिसोर्ट र रेष्टुरेन्टले जापानी खानाका पारखीको सेवाका साथै  १३० भन्दा बढि व्यक्तिलाई रोजगारी दिएको संचालन अर्जुन अधिकारीले जानकारी दिए  ।

१३ श्रावण २०८०