कस्तो रह्यो ‘टान’मा निलहरि बास्तोलाको दुई वर्षे कार्यकाल ?


टुरिजम पाना संवाददाता काठमाडौँ । १८ भाद्र २०८१

पर्यटन व्यवसायी निलहरि बास्तोला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष हुँदै गर्दा यस क्षेत्रमा कोरोना महामारीको असर कायमै थियो । उनको मुख्य कार्यक्षेत्र पदमार्गमा पर्यटक सहजै भेटिने अवस्था बनिसकेको थिएन् । पदयात्रामा निस्कनेको चहलपहल बढ्दो रहे पनि अपेक्षाकृत पर्यटक भने आइसकेका थिएनन् । यद्यपि आन्तरिक पर्यटकको चहलपहलले आशा भने जगाएको थियो ।

कोरोना महामारीले प्रभावित ट्रेकिङ व्यवसायलाई सही मार्गमा ल्याउन र व्यवसायी र श्रमिकको हित हुने गरी काम गर्ने जिम्मेवारका साथ दुई वर्ष (२०२२-२०२४) का लागि अध्यक्ष बनेका बास्तोलाले त्यो बेला २० बुँदामा प्रतिबद्धता जनाएका थिए । अहिले कार्यकाल सकिँदै गर्दा प्रतिबद्धता कति पूरा गरे त ?

“मेरो कार्यकाल सफल नै भयो भन्छु, किनभने अधिकांश प्रतिबद्धता पूरा गरेको छु, यद्यपि २÷३ वटा काम हुने चरणमा छ, ती अझै पूरा भइसकेका छैनन्”, कार्यकाल समीक्षा गर्दै उनले भने ।

पच्चिस सयभन्दा बढी व्यवसायी र झण्डै छ लाख श्रमिकहरुको हकहितलाई ध्यानमा राखेर काम गर्दा कतिपय व्यवहारिक र कतिपय नीतिगत समस्याका कारण प्रतिबद्धता पूरा हुन नसकेको उनको बुझाइ छ ।

उनका शब्दमा पछिल्ला दुई वर्षमा कोरोना महामारीका कारण प्रभावित व्यवसायलाई धेरै हदसम्म चलायमान बनाइएको छ । नयाँ पदमार्ग पहिचानदेखि सम्बर्द्धन र प्रबर्द्धनका काम पनि यसबीचमा भएका छन् । अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममार्फत नेपालको ट्रेकिङ टुरिजमलाई चिनाउने र आकर्षित गर्ने काम पनि भएको छ । त्यसका साथै सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कैयौँ काम पनि भएका छन् । व्यवसायलाई प्रविधिमैत्री बनाउने काम भएको छ ।

बास्तोला यस क्षेत्रका व्यवसायीहरुको हकहित र श्रमिकहरुको हितका लागि नीतिगत तहदेखि नै कैयौँ काम भएको बताउछन् । सरोकारवालासँगको सहकार्यमा पदमार्ग संरक्षण र पहिचानका क्षेत्रमा महत्वपूर्ण काम पनि भएको छ । कोरोनालगायतका कारणले अन्तर्राष्ट्रिय संस्थासँग टुटेको सम्बन्धलाई जोड्ने र नयाँ सञ्चार प्रवाहमा पनि उल्लेख्य सफलता हासिल भएको छ ।

“मुलुक संघीय संरचनामा जाँदा विकासका नाममा सडक बनाउने क्रम बढेको छ, यो राम्रो पनि हो, तर यसले पदमार्गमा ठूलो असर गरेको रहेछ, पदमार्ग मासेर सडक बनाउँदा पदमार्गको पहिचान हटेको छ”, उनले भने, “यस विषयमा स्थानीयलाई बुझाउन निकै गाह्रो भयो । कार्यकालको अधिकांश समय यसैमा खर्चिएका छौँ ।”

आफूहरु विकास विरोधी नभएको स्पष्ट पार्दै उनले पदमार्ग जोगाउदै विकास गर्नुपर्ने धारणा राखे । पदमार्ग पर्यटन व्यवसायीहरुले नै लामो समयदेखि जोगाएरै राखेको हो । अहिले जथाभावी सडक बनाउँदा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । उनका अनुसार अब नयाँ पदमार्ग बनाएर अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न लामो समय लाग्छ ।

“उदाहरणका लागि अन्नपूर्ण पदयात्रा विश्वको उत्कष्ट १० भित्र पर्दथ्यो । २१ दिनको यो पदयात्रा अहिले १० दिनमा सीमित भएको छ, यसले पदयात्राको रोमाञ्चकताका साथै पर्यटकको आकर्षण घटाएको छ”, उनले भने, “विकासका नाममा यातायातको सहजता पाउँदा केही गुमाएका पनि छौँ ।”

बास्तोलाले पछिल्लो समय सोलुखुम्बुमा लालीगुराँस फूल्ने जंगलभित्र नयाँ पदमार्ग पहिचान गरिएको बताए । निकै रोमाञ्चक यस पदयात्रालाई प्रवद्र्धन गर्नु अहिलेको चुनौती भएको उनको भनाइ छ ।

व्यवसायीका लागि पनि उनले आफ्नो कार्यकालमा केही काम गरेका छन् । पदयात्राका लागि यहाँ आउने विदेशीहरुलाई अनिवार्यरुपमा कम्पनीसँग सहकार्य र नेपाली गाइड लैजानै पर्ने नियम कार्यान्वयनमा ल्याइएको छ ।

यद्यपि कार्यकालमा केही प्रतिबद्धता अधुरै रहे । जस्तै २०३५ सालको पर्यटन ऐनमा समयसापेक्ष संशोधनका लागि प्रभावकारी पहल हुन सकेन । जुन मुद्दालाई अहिलेका अध्यक्षका दुवै प्रत्यासीले पनि चुनावी घोषणापत्रमा समेटेका छन् । “हामीले जतिसुकै ठूलो गफ गरेपनि आज पनि पुरानो ऐनमै रहेर काम गर्नु परिरहेको छ । यसमा सरकारी पक्षको चासो र सक्रियता पनि कमजोर रह्यो, पर्यटन व्यवसायीले मात्रै चाहेर सम्भव भएन”, उनले भने ।

उनले कार्यकाल सकिँदै गर्दा नीतिगत सुधार नहुँदासम्म यस क्षेत्रमा अपेक्षाकृत सफलता हासिल गर्न सकिन्न भन्ने बुझेका छन् । त्यसैले सुरुमा नीतिमै सुधार जरुरी रहेको उनले सुनाए । कार्यकालको समीक्षा गर्दै गर्दा आफूले टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स)मा जम्मा भएको रकम परिचालन गर्न नसेकको स्वीकार गरे ।

साथै पर्यटकीय क्षेत्रमा चेकपोस्ट राख्ने तयारी भइरहे पनि त्यो पूरा हुन सकेको बताए । त्यसैगरी हिमाली क्षेत्रमा विदेशीसँगै कम्तीमा दुई जना सँगै जानुपर्ने नियमलाई एक जनामा सीमित गर्ने माग पनि पूरा हुन नसकेको उनको भनाइ थियो ।

बास्तोलाले आफ्नो कार्यकाल सफल भएको दाबी गरिरहँदा उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटा भने बास्तोलाको कार्यकाल औसत भएको मूल्यांकन गर्छन् । उनले अध्यक्षका रुपमा बास्तोलाले मुख्य तीन काम गर्न नसकेको बताए ।

“उहाँले घोषणपत्रमा उल्लेख गर्नुभएका २० मध्ये टिम्स कार्यान्वयनमा ल्याउन सक्नुभएन, मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा पदयात्रामा जाँदा लाग्ने शुल्क घटाउन र हवाई यातायातमा लाग्दै आएको भ्याट कर घटाउन पनि सक्नुभएन”, सापकोटाले भने । त्यसबाहेक अध्यक्षका रुपमा बास्तोलाले पदमार्ग पहिचान, संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि भने केही काम गरेको उनको बुझाइ छ ।

१८ भाद्र २०८१