सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेज अवैध, उल्लङ्घन गरे कारबाही हुने चेतावनी


टुरिजम पाना काठमाडौं । १७ बैशाख २०८३

सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) का एक्सपिडिसन क्याम्पमा ‘ओभरनाइट स्टे’ प्याकेजसहित विज्ञापन भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै पर्यटन विभागले स्पष्ट चेतावनी दिएको छ।

विभागका अनुसार केही ट्रेकिङ एजेन्सीहरूले आधार शिविरमै बसोबास गराउने गरी प्याकेज सार्वजनिक गरेको भन्ने गुनासो प्राप्त भएको छ। यस सम्बन्धमा विभागले पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार यस्तो गतिविधि कानुनविपरीत रहेको स्पष्ट पारेको छ।

नियामावलीको दफा ९(ड२) अनुसार पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइ क्षेत्रमा काम गर्ने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक अन्य कुनै व्यक्तिलाई विभागको पूर्व स्वीकृति बिना आधार शिविरमा राख्न पाइँदैन।

पर्यटन विभागले सबै सम्बन्धित निकाय र सरोकारवालालाई उक्त कानुनी व्यवस्था पालना गर्न निर्देशन दिएको छ। साथै, कसैले पनि नियमविपरीत आधार शिविरमा व्यक्तिलाई बसोबास गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

सगरमाथा क्षेत्रजस्तो संवेदनशील तथा उच्च जोखिमयुक्त स्थानमा अनधिकृत बसोबासले सुरक्षा र व्यवस्थापनमा समस्या उत्पन्न गर्न सक्ने भन्दै विभागले यस्ता गतिविधि तुरुन्त रोक्न आग्रह गरेको छ।

१७ बैशाख २०८३