धुलिखेलको देविस्थानडाँडामा प्याराग्लाइडिङ, कसरी पुग्ने ? कति लाग्छ शुल्क ?


उपासना शर्मा काठमाडौं । २ श्रावण २०८०
फाइल फोटो

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबारदेखि व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरू भएको छ । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थान डाँडामा प्याराग्लाइडिङ उडान सुरू गरेको हो ।

कम्पनीका अनुसार, देविस्थान डाँडाबाट धुलिखेल नगरपालिका ८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरीमा प्याराग्लाइडिङ उडान हुन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि विश्वबजार प्रालिलाई औपचारिक (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) उडानको अनुमति दिएको हो ।

पोखरामा सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गरिएको कम्पनीका अध्यक्ष किरण कार्कीले जानकारी दिए ।

उनका अनुसार, टेक अफ हुने देविस्थान डाडाको उचाइ समुद्री सतहबाट करिब ४८ सय फिट छ भने ल्याण्डिङ स्टेसन करिब ३३ सय फिट उचाइमा रहेको छ ।

यस्तै प्याराग्लाइडिङ सो ठाउँबाट करिब ५५ सय फिट उचाइसम्म उडान हुनेछ छ । टेकअफ स्टेसनबाट ७ सय फिट माथि प्याराग्लाइडिङमा उड्दा गौरिशंकर हिमाल लगायत अन्य विभिन्न हिमालहरूको मनोरम दृश्यावलोकन गर्न सकिनेछ ।

यसबाहेक पर्यटकीय क्षेत्र कालिञ्चोक, पलाञ्चोक भगवती, सैलुङ हुँदै बनेपा र साँगासम्मको दृश्यले उडानलाई थप रोमाञ्चक बनाइदिने अध्यक्ष कार्की बताउँछन् ।

उनका अनुसार, कम्पनीले एक पटकमा ८ वटा टेण्डम र ३ वटा सोलो गरि ११ वटा प्याराग्लाइडिङ उडान गर्नेछ । सो उडान ३० मिनेट अवधिको हुनेछ ।

विगत ८ वर्षदेखि पोखरामा साहसिक पर्यटन व्यवसाय गर्दै आएका कार्कीले धुलिखेलमा प्याराग्लाइडिङ विस्तारका लागि करिब डेढ वर्षदेखि लागिपरेका थिए । उनलाई यस प्याराग्लाइडिङमा अन्य दुई सहकर्मीले शेयर लगानी गरेर साथ दिएका छन् ।

करिब ३० लाख रुपैयाँ लगानीमा यो समूहले प्याराग्लाइडिङको व्यवसायिक उडान सुरू गरेको हो । ‘अहिले सामान भाडामा ल्याएर सञ्चालन गरेकाले केही सस्तो परेको हो । दशैंपछि लगानी विस्तार गर्ने र आफ्नै सामान राख्ने सोच छ,’ अध्यक्ष कार्कीले टुरिजम पानासँग भने ।

उनका अनुसार, पोखराकै प्याराग्लाइडिङ पाइलटहरूसँग सामान भाडामा लिइएको हो । लगानी विस्तारका क्रममा भने एक करोडभन्दा बढी पुग्ने अनुमान गरिएको उनी बताउँछन् ।

काठमाडौंबाट समेत नजिकको दूरीमा प्याराग्लाइडिङ उडान हुने भएकाले बिहान गएर बेलुका फर्कनका लागि समेत उपयुक्त हुनेछ ।

यसबाहेक शनिवार धुलिखेल घुम्न जानेहरूका लागि पनि प्याराग्लाइडिङले साहसिक खेलको मज्जा दिलाउने अध्यक्ष कार्कीको विश्वास छ ।

पर्यटकीय स्थल धुलिखेलमा प्याराग्लाइडिङको उडान सुरू भएसँगै स्थानीयको रोजगारी तथा आम्दानीमा समेत सकारात्मक प्रभाव पार्ने उनी बताउँछन् ।

कति लाग्छ शुल्क ?

यस प्याराग्लाइडिङका लागि प्रति व्यक्ति सात हजार रुपैयाँ उडान शुल्क कायम गरिएको छ । जसमा फोटो तथा भिडियो पनि समावेश छ ।

यसबाहेक सोही शुल्कमा नै बीमासमेत जोडिएको अध्यक्ष कार्कीको भनाइ छ । काठमाडौंबाट नजिकैको दूरीमा रहेको यस प्याराग्लाइडिङ उडान काठमाडौं र आसपासका क्षेत्रका पर्यटकहरूका लागि अन्य ठाउँको भन्दा सस्तो पर्नेछ ।

कसरी पुग्ने ?

काठमाडौंबाट ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल बसपार्क सार्वजनिक यातायातमा सहजै पुग्न सकिन्छ । बसपार्कसम्म करिब ९० रुपैयाँ भाडा तिरेर सार्वजनिक यातायातमा जान सकिन्छ । यसबाहेक आफ्नै निजी साधन हुनेहरू पनि धुलिखेलसम्म सहजै पुग्न सक्छन् ।

धुलिखेल बसपार्कबाट २ किलोमिटर नमोबुद्ध तर्फ अघि बढ्दा देविस्थान डाँडा (सेल्फी डाँडा)मा प्याराग्लाइडिङ स्टेशन रहेको छ ।
बसपार्कबाट कम्पनीले आफ्नो कम्पनीको गाडीमा स्टेशनसम्म पुर्‍याउँछ ।

यसबाहेक केही दिनअघि नै बुकिङ गर्दा कम्पनीले बसको व्यवस्था गर्नेछ । काठमाडौंको ठमेलबाट कम्पनीकै बस चढेर सेल्फी डाँडासम्म पुग्न सकिन्छ । कम्पनीले त्यसको निश्चित भाडा लिनेछ ।

के ख्याल गर्ने ?
प्याराग्लाइडिङमा उडान भर्न जानु अघि आफ्नो भ्रमण तालिकाको सम्भावित मौसम परीक्षण गर्न सकिन्छ । साथै प्याराग्लाइडिङमा विनचिटर र चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन ।

यस्तै, उडानका क्रमममा दौडनुपर्ने समेत भएकाले चप्पलभन्दा जुत्ता लगाएर जानु उत्तम हुन्छ ।

कसरी बुक गर्ने ?
अग्रीम बुक गर्नका लागि कम्पनीका प्रबन्धक किरण कार्कीलाई मोबाइल नम्बर ९७६२२८९०३२मा सम्पर्क गर्न सकिनेछ । यसबाहेक कम्पनीलाई सिधै ०११६६५६३२ मा फोन गरेर बुकिङ पनि गर्न सकिनेछ ।

२ श्रावण २०८०