सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरू भएको छ । प्रयास होटल प्रालिले साउन २२ गतेदेखि प्याराग्लाडिङ सञ्चालनमा ल्याएको हो ।
दुई करोडको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताए । उनका अनुसार, गत वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो । जेठ देखि नै सञ्चालनमा ल्याउने भनिएपनि प्राविधिक कारणले केही महिना ढिला गरि सुरू गरिएको सञ्चालक थापाले बताए ।
कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ ।
पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शङ्कर थापा मगरले उडान भर्ने छन् । प्याराग्लाइडिङ गर्नका प्रतिव्यक्ति रु छ हजार पाँच सय शुल्क तोकिएको छ । जिल्लाका स्थानीयवासीलाई भने एक महिनासम्मका लागि एक हजार छुट गरिएको सञ्चालक थापाले बताए ।
प्याराग्लाइडिङको अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्यान्डिङ स्टेशनदेखि प्रयास होटलसम्मको ल्याउने र पुर्याउने सुविधासमेत यसै शुल्कअन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाइ छ ।
प्याराग्लाइडिङ अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्यान्डिङ स्टेशन बनाइएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट नौ सय ७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ ।
यहाँ साहसिक खेलका रूपमा लिइने प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, होचाअग्ला डाँडापाखा र थुम्काथुम्कीका लोभलाग्दा दृश्य देख्न सक्नेछन् ।
सिन्धुलीमा जेठदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै, कसरी पुग्ने ? कति लाग्छ शुल्क ?