प्राधिकरणका बेथितिबारे आवाज उठाउँदा भ्रम सिर्जना गर्न खोजियो: सिम्रिक एयर


टुरिजम पाना संवाददाता काठमाडौं । २६ श्रावण २०८०

सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सविरुद्ध भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरेपछि विज्ञप्ति जारी गर्दै सिम्रिक एयरले प्राधिकरणका व्यथितिका बारेमा आवाज उठाउँदा संस्थाका अध्यक्षलाई व्यक्तिगत रुपमै लक्षित गरि संस्थाको गरीमाप्रति भ्रम सिर्जना गर्न खोजिएको नियति प्रष्ट देखिएको उल्लेख गरेको छ ।

‘विगत केहि समयदेखि प्राधिकरणले निजी क्षेत्रबाटसंचालित हवाई सेवा प्रदायक कम्पनीहरुलाई विभिन्न वाहानामा प्रत्यक्ष अप्रत्यक्षरुपमा निरुत्साहित गर्ने र यस व्यवसायमा आवद्घ व्यवसायीहरुको व्यवसायलाई धराशायी पार्ने उदेश्यले पटक पटक विनाकारण दु:ख दिँदै आएकोमा सोको विरुद्घमा वायु सेवा संचालक संघ नेपालका अध्यक्षको हैसियतले यस्तो प्रकारको व्यथितिकोसम्बन्धमा यस कम्पनीका अध्यक्षले आवाज उठाएको हुनाले निजलाई व्यक्तिगत रुपमै लक्षित गरि निज आवद्घ संस्थाको गरीमाप्रति भ्रम सिर्जना गर्न खोजिएको नियति प्रष्ट देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

सिम्रिक एयरको नाममा प्राधिकरणले साउन २१ गते ७ दिन भित्र हिसाव मिलान गर्न आउन भनि पत्राचार गरि पत्रमा दिएको मिति अगावै वदनियतपूर्ण तरिकाले, पूर्वाग्रहि ढगंले, प्रतिशोध साध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरि यस संस्थाको गरिमामा आच पुर्‍याउने उदेश्यले कपोलकल्पिक झुटा र भ्रामक समाचार सम्प्रेषण गरिएको एयरलाइन्सको आरोप छ ।

तर, प्राधिकरणले भने आफूहरुको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको जनाएको छ ।

सिम्रिकले सेवा उपभोग गरे वापतको रकम प्राधिकरणलाई क्रमश बुझाउँदै आएको र उक्त पत्र प्राधिकरणको खाताबन्दीका क्रममा देखिन आएको छुटफुट रकम भएको दाबी गरेको छ ।

सो रकम कम्पनीको उडान विवरण र हिसावसँग रुजु भइ मेल खाएमा भुक्तानी गर्ने र नभए सच्याउनका निम्ति प्राधिकरणलाई अनुसरोध गर्ने प्रकृया एवै व्यवहारमा रहि आएको सिम्रिक एयरले जनाएको छ ।

२६ श्रावण २०८०