सिन्धुलीमा जेठदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै, कसरी पुग्ने ? कति लाग्छ शुल्क ?


विष्णुकान्त घिमिरे काठमाडौं । १३ बैशाख २०८०

सिन्धुली गढी र नागबेली बिपी राजमार्गले चर्चित सिन्धुली जिल्लामा आगामी जेठदेखि साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । सिन्धुलीको प्रयास होटल प्रालिको २ करोड रुपैयाँ लगानीमा प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न लागिएको हो ।

कम्पनीका सञ्चालक नेत्रजंग थापाले जेठ १ गतेदेखि व्यवसायिक उडान सुरू गर्ने गरि तयारी गरिएको टुरिजम पानालाई जानकारी दिए । उनका अनुसार, यसका लागि कम्पनीले प्याराग्लाइडिङको परीक्षण उडान पनि सम्पन्न गरिसकेको छ ।

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ उडाउने गरि नागरिक उड्डयन प्राधिकरणसँग इजाजत लिइसकेको सञ्चालक थापाले जानकारी दिए ।

कम्पनीले प्याराग्लाइडिङको अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्याण्डिङ स्टेसन बनाएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट ९७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्याण्डिङ स्टेशन समुद्री सतहबाट ४ सय मिटरको उचाइमा रहेको छ ।

सिन्धुली देशका तीन ठूला राजमार्गले छोएको जिल्ला र पूर्व तर्फबाट काठमाण्डौ सम्म पुग्नको लागि समेत छोटो बाटो भएको, जिल्लामा विभिन्न ऐतिहासिक स्थलहरु भएको र छिमेकी देश भारतसंग पनि नजिक भएकाले पर्यटन क्षेत्रको विकासका लागि ब्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान संचालन गर्न लागिएको सञ्चालक थापाको भनाइ छ । उनले यहाँ बाह्य मुलुकका पर्यटक समेत आउने विश्वास व्यक्त गरे ।

कति लाग्छ शुल्क ?

कम्पनीले प्याराग्लाइडिङमा उड्नका लागि प्रति व्यक्ति ६ हजार रुपैयाँ शुल्क कायम गरेको छ । प्याराग्लाइडिङको फ्लाइट, फ्लाइट अवधिको फोटो तथा भिडियो, होटलदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्याडिङ स्टेशनदेखि होटलसम्मको पिक एण्ड ड्रपको सुविधा समेत यसै शुल्क अन्तर्गत रहेको कम्पनीले जनाएको छ ।

कसरी पुग्ने ?
प्रयास होटल सिन्धुलीको लक्ष्मण चोकमा रहेको छ । काठमाडौंबाट १ सय ५० किलोमिटर र बर्दिबासदेखि ३७ किमी दूरीमा प्रयास होटल रहेको छ । जहाँ पुग्नका लागि काठमाडौंबाट सार्वजनिक बसमा ६ सय रुपैयाँ र जीप, सुमोमा करिब ८ सय रुपैयाँ प्रतिव्यक्ति भाडा लाग्दछ ।

यस्तै बर्दिबासबाट सार्वजनिक बसमा करिब १०० रुपैयाँ भाडा तिरेर प्रयास होटल पुग्न सकिन्छ । सो होटलमा प्याराग्लाइडिङका लागि आवश्यक प्रक्रिया पूरा गरेपश्चात होटलले आफ्नै सवारी साधनमा प्याराग्लाइडिङ उड्ने स्थानमा च्याउँकोट पुर्‍याउँछ । होटलबाट ६ किमीको दुरीमा पर्ने च्याउँकोटमा सिद्धबाबा मन्दिर पनि छ । यो ठाउँ भ्यु पोइन्टका रुपमा पनि परिचित छ ।

के ख्याल गर्ने ?
प्याराग्लाइडिङमा उडान भर्न जानु अघि आफ्नो भ्रमण तालिकाको सम्भावित मौसम परीक्षण गर्न सकिन्छ । साथै प्याराग्लाइडिङमा विनचिटर र चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन । यस्तै, उडानका क्रमममा दौडनुपर्ने समेत भएकाले चप्पलभन्दा जुत्ता लगाएर जानु उत्तम हुन्छ ।

कसरी बुक गर्ने ?

सिन्धुली पुगेर प्याराग्लाइडिङमा उड्नका लागि फोन सम्पर्क गरि बुकिङ गर्न सकिन्छ । यसका लागि होटल प्रयासको सम्पर्क नम्बर +९७७-४७-५२०६९९ ९८०१०५६५४३  मा फोन गरि बुकिङ गर्न सकिन्छ । netra jung thapa

Hotel prayash bp highway

१३ बैशाख २०८०