राणा शासकको नजरमा परेको बन्दिपुरको दरबारजस्तो घरको कथा


उपासना शर्मा बन्दिपुर । १२ बैशाख २०८०
Bandipur Royal Home

बन्दिपुर बजार प्रवेश गर्ने बित्तिकै पूरानो दरबार जस्तै एउटा घर देखिन्छ । दाजुभाइ विष्णुकुमार प्रधान र चन्द्रगोपाल प्रधानले वि.सं. १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर उक्त घर बनाएका थिए ।

विष्णुकुमार सो परिवारको जेठो छोरा थिए भने परिवारको मुली पनि उनी नै थिए । उनैले बन्दिपुरलाई ठोरी, इण्डियासँग व्यापारका लागि जोडेका थिए ।

तत्कालीन समयमा दरबार जस्तो घर बनाएका कारण राणाहरूले चन्द्रगोपाललाई पक्राउ गरि ३ सय ५ चाँदीको मोरु जरिवाना तिराएका थिए ।

राणाहरूको अवरोधका कारण घरको नौ तला बनाउने योजना रोकियो । सात तला निर्माण भएको उक्त घरको तल्लो दुई तला पुरेर हाल पाँच तला कायम गरिएको छ ।

निर्माणका समयमा सो घरमा झिँगटीको छानो राखिएको थियो । पछि भारतको कलकत्ताबाट टिन ल्याएर टिनको छाना राखिएको थियो । टिनको छाना राखेपछि सो घरमा चाँदीको छाना राखिएको चर्चा समेत बन्दिपुरमा चलेको थियो ।

दरबार जस्तै बनेको सो घर केवल घरमात्रै थिएन । २०२५ अगाडि विभिन्न सरकारी अड्डा समेत थियो । चन्द्रगोपालका छोरा ईश्वरगोपाल प्रधान सो ठाउँको प्रधानपञ्च बनेको समयमा उनले आफ्नै घरमा विभिन्न सरकारी अड्डा चलाएका थिए ।

वि.सं. २०२५ मा तनहुँको सदरमुकाम बन्दिपुरबाट दमौली सारियो । त्यसपश्चात भने सो घरमा सरकारी कार्यालयहरू रहेनन् । उक्त घरमा अहिले चन्द्रगोपालका नाती पत्थर प्रधान बस्दै आएका छन् ।

बन्दिपुरको ऐतिहासिक स्थानहरूमध्ये सो घर पनि एक हो । राणाकालीन इतिहास बोकेको सो घरको अहिलेसम्म पनि उत्तिकै महत्व रहेको छ ।

बन्दिपुर घुम्न गएका पर्यटकहरूले सो घरको अवलोकन गर्ने इच्छा देखाउँदा पत्थरले नै सो घरमा घुमाउने गरेका छन् । सो घरमा पत्थरका जेठा दाइ पुष्कर प्रधानले कोसेली घरसमेत सञ्चालन गर्दै आइरहेका छन् । bandipur royal home

१२ बैशाख २०८०