सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी नागरिकलाई कारबाही गर्दै पर्यटन विभाग


विष्णुकान्त घिमिरे काठमाडौं । ११ बैशाख २०८०
national sports competition Nepal, paragliding
फाइल फोटो

सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी नागरिक ड्यारेन जोनलाई पर्यटन विभागले कारबाही गर्ने भएको छ ।

आइतबार दिउँसो सगरमाथाको क्याम्प २ मा अवैध प्याराग्लाइडिङ गरेका सूचना आएपछि प्याराग्लाइडिङ गर्ने व्यक्ति र उनलाई लैजाने कम्पनी सेभेन समिटलाई स्पष्टीकरण सोधी आवश्यक कानूनी कारबाही गरिने पर्यटन विभागका निर्देशक युवराज खतिवडाले टुरिजम पानालाई जानकारी दिए ।

उनका अनुसार, सगरमाथा आरोहणको अनुमति पाएका उनले प्याराग्लाइडिङको भने अनुमति लिएका थिएनन् ।

टुरिजम पानासँग निर्देशक खतिवडाले भने,‘सूचना आएपछि अहिले छानबिन समितिले अध्ययन गर्दैछ, अध्ययन प्रतिवेदन आएपछि कारबाही शुरू हुन्छ ।’

अध्ययनपछि अवस्था अनुसार कानूनी कारबाही गरिने उनको भनाइ छ । उनले भने,‘परमिट रद्द गर्नेसम्मको पनि कारबाही हुन सक्छ ।’
रिपोर्ट आएपछि उनलाई लैजाने एजेन्सीलाई समेत स्पष्टिकरण सोधिने निर्देशक खतिवडाले जानकारी दिए ।

खतिवडाकै संयोजकत्वमा सगरमाथा आधार शिवर अनुगमन तथा सहजीकरण समिति गठन गरिएको छ । जसमा नेपाली सेनाका किशोर अधिकारी र छिरिङ शेर्पाले अनुगमन गर्नेछन् ।

जसको रिपोर्ट प्राप्त हुना साथ आवश्यक कारबाही गरिने निर्देशक खतिवडाले जानकारी दिए । उनले भने,‘मौसमका कारण रिपोर्टिङ हुन सकेको छैन । मौसम खुल्नासाथ आजै रिपोर्ट आउन सक्नेछ ।’

 

११ बैशाख २०८०