काठमाडौं । पशुपति विकास कोषले पशुपति आर्यघाट क्षेत्रमा हुने गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न निषेध गरिएको सूचनामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कोषले शुक्रबार विज्ञप्ति जारी गर्दै बुढासुब्बा डिजिटल प्रालिले कोषको समेत नाम राखेर सूचना प्रकाशित गरेकोमा आपत्ति जनाएको छ । यस विषयमा कोषको कुनै संलग्नता नरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि बुढासुब्बा डिजिटलले पशुपति क्षेत्र विकास कोषको समेत लोगो राख्दै पशुपति आर्यघाट क्षेत्रमा हुने गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिचेर फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको पाइएमा डिजिटल कपीराइट ऐनअन्तर्गत कारवाही हुने सूचना प्रकाशित गरेको थियो । त्यसको चर्को आलोचना भएपछि कोषले विज्ञप्ति निकालेको हो ।