गन्तव्य पिकनिक !


चिसो बढेसँगै काठमाडौं लगायत विभिन्न शहरी भेगबाट वनभोज (पिकनिक) जाने क्रम शुरु भएको छ । पुस, माघ र फागुन महिनामा काठमाडौं उपत्यका वरपरका पिकनिक स्पट भरिभराउ देखिन्छन् ।

पिकनिकको सिजन शुरु भएसँगै काठमाडौं उपत्यका आसपासका पिकनिक स्पटहरुमा धमाधम बुकिङ भइरहेको छ ।

अधिकांश पिकनिक स्पटमा भने पानी र शौचालयको समेत अभाव देखिन्छ । हामीले काठमाडौं उपत्यका वरपर रहेका विभिन्न पिकनिक स्पटहरुको सुविधा, शुल्क र त्यहाँको सम्पर्क नम्बर समेत तल उल्लेख गरेका छौं ।

गोदावरी

ललितपुरको गोदावरी नगरपालिकामा पर्ने गोदावरी काठमाडौंबाट नजिकको पिकनिक गन्तव्य हो । करिब ८ किलोमिटरको दूरीमा रहेको यो ठाउँमा सरासर गाडीमा जाने हो भने करिब ३० मिनेटको बाटोमा पुग्न सकिन्छ । शान्त र हरियाली वातावरणमा वनभोजको मजा लिन सकिने यो ठाउँ धेरै काठमाडौंवासीको रोजाइको वनभोज गन्तव्य रहेको मानिन्छ ।
पिकनिक शुल्क – ३०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म

दोलालघाट

दोलालघाट काभ्रे जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमध्ये एक हो । इन्द्रावती र भोटेकोशी नदीको किनारमा पर्ने यो क्षेत्र काठमाडौंबाट करिब ५० किलोमिटरको दूरीमा छ । सरासर गाडीमा जाने हो भने करिब डेढ घण्टामा पुगिने यो ठाउँमा बगरमा करिब एक दर्जनबढी वनभोज स्थलहरु रहेको दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठ बताउँछन् ।

पिकनिक शुल्क – शुल्क निर्धारण गरिएको छैन । बत्ती र पानीको व्यवस्था गरिदिएबापत ५०० देखि ७०० रुपैयाँसम्म लिने गरिएको छ ।

पलाञ्चोक

काभ्रे जिल्लाकै अर्को ऐतिहासिक एवं पर्यटकीय क्षेत्र हो पलाञ्चोक भगवती । यहाँ ९ वटा पिकनिक स्पट छन् । काठमाडौंबाट ४७ किलोमिटरको दूरीमा रहेको यो क्षेत्रमा पुग्न सरासर गाडीमा जाँदा करिब एक घण्टा ४५ मिनेट लाग्छ ।

पिकनिक शुल्क – न्यूनतम २ हजारदेखि अधिकतम ३ हजार रुपैयाँसम्म

नगरकोट

नगरकोट काठमाडौं उपत्यका आसपासको अर्को पर्यटकीय क्षेत्र हो । यहाँ पिकनिक मात्रै नभएर अरु समयमा पनि धेरै पर्यटकहरुको भीड लाग्ने गर्छ । त्यस्तै, यहाँ पिकनिकको लागि पनि १० वटा पिकनिक स्पट छन् । आफ्नो खाली ठाउँमा वनभोज गर्न दिएर यसभन्दा बाहेक अरुले पनि पैसा असुल गर्ने गर्छन् । कोटेश्वरबाट २२ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र पुग्न सरासर गाडीमा जाँदा करिब एक घण्टा लाग्छ ।

पिकनिक शुल्क – ३ हजारदेखि ५ हजार रुपैयाँसम्म

त्रिभुवन पार्क

त्रिभुवन पार्कभित्र १५ वटा पिकनिक स्पटहरू छन् । जसमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता भएको स्पट रहेको पार्क व्यवस्थापनले जनाएको छ । कलंकीबाट ६ किलोमिटरको दूरीमा रहेको यो ठाउँ सरासर गाडीमा जाँदा करिब १६ मिनेटमा पुगिन्छ ।

पिकनिक शुल्क – त्यहाँ मान्छेको क्षमता अनुसार १५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्मका स्पट भाडामा पाइन्छन् ।

स्वीट्जरल्याण्ड पार्क

स्वीट्जरल्याण्ड पार्क चन्द्रागिरि नगरपालिकामा पर्ने काठमाडौंबाट नजिक रहेको पार्क हो । अग्लो ठाउँमा जंगलको बीचमा रहेको यो पार्कमा अन्यत्रको तुलनामा बढी सुविधा र एउटै शुल्क रहेको व्यवस्थापन पक्षले जनाएको छ । कलंकीबाट ७ किलोमिटरको दूरीमा रहेको यो ठाउँ सरासर गाडीमा जाँदा करिब २५ मिनेटमा पुगिन्छ ।

पिकनिक शुल्क – सबै स्पटको लागि २७०० रुपैयाँ

धुलिखेल

धुलिखेल पनि व्यस्त पिकनिक स्पटमध्येकै एकमा पर्छ । काठमाडौंबाट छोटो दूरीमा पर्ने धुलिखेलको डाँडोमा रहेको यो पिकनिक स्पटमा शुक्रबार र शनिबार मात्रै दैनिक ३० वटा जति समूहले पिकनिक मनाउने गर्छन् । कोटेश्वरबाट २५ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र सरासर गाडीमा जाँदा करिब ५५ मिनेटमा पुगिन्छ ।

नमोबुद्ध : समुद्री सतहबाट १८ सय मिटर उचाइमा अवस्थित नमोबुद्ध काभ्रे जिल्लामा अवस्थित छ । यो स्थान पनि पिकनिकका लागि उत्कृष्ट मानिन्छ। काभ्रेको पनौतीदेखि परम्परागत नेवार बस्ती छिचोल्दै सुरु हुने यो रुटमा जानुअघि पनौतीसम्म भने सवारीसाधनमा जानुपर्ने हुन्छ । नमोबुद्धआसपास सडक यातायात पुगिसकेको भए पनि स्थानीय बस्ती, कृषिभूमि, नदीनाला, पहाड र हिमाली शृंखला अवलोकन गर्न भने पैदलयात्राको विकल्प छैन ।

२३ पुष २०८०