फलोअप: चर्को आलोचनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले खुलायो पार्किङ ठेक्का


टुरिजम पाना पोखरा । १७ माघ २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चर्को शुल्क असुल्ने गरी पार्किङ शुल्क तोकेसँगै चर्को आलोचनापछि बल्ल पार्किङ बोलपत्र आह्वान (टेण्डर) गरेको छ ।

गत पुस १७ देखि सञ्चालनमा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पार्किङ शुल्कमा लुटतन्त्र मच्चिएको भन्दै यात्रु तथा सरोकारवालाले सर्वत्र विरोध जनाएपछि नागरिक उडड्यन कार्यालय पोखराले बल्ल टेण्डर आह्वान गरेको हो ।

पुरानो एअरपोर्टमा दुई पांग्रे सवारी साधनको १० रुपैयाँ पार्किङ शुल्क तिर्दै आएका सेवाग्राहीले एक्कासी प्रतिघन्टा ३० रुपैयाँ तिर्नुपरेपछि आक्रोशित बनेका हुन् । पटके पार्किङ शुल्क लाग्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्ने पर्यटक एवं सेवाग्राहीले पुरानो विमानस्थलमा तेब्बर बढी पार्किङ शुल्क तिर्न बाध्य भएका छन् ।

विमानस्थलमा पार्किङ गरेवापत मोटरसाइकल, स्कुटर, रिक्सा प्रतिघन्टा ३०, प्रतिदिन १८० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, कार, जिप, टेम्पो आदि पार्किङ गरेको प्रति घन्टा ६०, प्रतिदिन ३ सय ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, हल्का सवारीसाधन मिनी बस, माइक्रो आदि प्रति घन्टा ८० र प्रति दिन ४ सय ८० रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । गह्रौं सवारी साधनजस्तै बस, ट्रक १२० र प्रतिदिन ७ सय २० रुपैयाँ तिर्नुपर्छ ।

विमानस्थलमा प्रवेश गरेको पनि महंगो पटके पार्किङ शुल्क बुझाउनु परेपछि ट्याक्सी धनीले भाडा समेत बढाएपछि पर्यटकहरुले सास्ती व्यहोर्नुपरेको थियो । विमानस्थल सञ्चालनसँगै बिना टेण्डर विमानस्थलमा मनोज निर्माण सेवा पार्किङ शुल्क उठाइरहेको थियो । यो कम्पनीले पुरानो पोखरा विमानस्थलमा पार्किङ शुल्क उठाउँदै आएकोले सोहस् कम्पनीलाई जिम्मा दिएपनि चर्को रकम असुलेको भन्दै आलोचनापछि हालसालै टेण्डर प्रक्रिया गर्न विमानस्थल दबाबमा परेको हो ।

गोरखापत्रमा प्रकाशित बोलपत्र सूचनामा ५ वर्षका लागि ठेक्का आह्वान गरिएको छ । सूचनामा ५ वर्षका लागि १ करोड ६२ लाख ३३ हजार रुपैयाँ न्यूनतम बोलकबोल रकम तोकिएको छ । बहाल रकममा हरेक २ वर्षमा १० प्रतिशतले वृद्धि हुनेसमेत सूचनामा उल्लेख छ । सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेका बेला पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि यसबारेमा चासो व्यक्त गरेका थिए ।

यसअघि टुरिजम पाना डटकमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘पार्किङमा लुटतन्त्र’ भन्दै चौतफी बिरोध शीर्षकको समाचार प्रकाशन गरेको थियो ।

१७ माघ २०७९