पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा सडक महोत्सव आयोजना गरिने भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यको रुपमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पौष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरि आयोजक रेष्टुरेण्ट एण्ड वार एशोसियशन (रेवान) पोखराले जानकारी दिएको छ ।
“सडक मै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ” भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको २६ औं पोखरा सडक महोत्सवका संयोजक विकास भट्टराईले बताए ।
कला/संस्कृक्ति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचार प्रसार तथा ब्राण्डिङ्ग गराउने एउटै थलोको रुपमा महोत्सव रहँदै आएको उनले बताए ।
सडक महोत्सव स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने गतिलो माध्यम बनेको उनको भनाइ छ ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट लगायत प्रस्तुती रहनेछ ।
खेलकुद तर्फ बोट रेस, वेटर रेस, टंग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम रहनेछ ।
यस्तै पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने आयोजककझ भनाइ छ ।
पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने संयोजक भट्टराईले बताए ।