चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पछिल्लो साढे चार महिनामा १२ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत साउन महिनादेखि मंंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार ३६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।
घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गरेको पर्यटन पर्यटक प्रहरी कार्यालय घोडेपानीका इन्चार्ज प्रहरी सहायक निरिक्षक तारा बुढा मगरले जानकारी दिए ।
म्याग्दीको पोखरेबगर, चित्रे हुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकहरुको तथ्याङ्क कार्यालयले राख्दै आएको उनले बताए । पहिले विदेशी पर्यटकहरुको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकहरुको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुई देखि तीन हजार जम्म आन्तरिक पर्यटकहरुले समेत भ्रमण गर्छन् ।
घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटकहरु आउने गर्छन् ।४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल रहेका छन् । अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक १ हजार २ सय जनासम्मलाई राख्न सक्ने क्षमता रहेको छ । समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन, उच्च हिमाली भुगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकहरुले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाईमा राख्ने गरेका छन् ।