फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी छन् ।
उनले बिहीबार ८ हजार ६११ मिटर उचाइको हिमाल के–टुको सफल आरोहण गरेकी हुन् ।
यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजना बनाएकी छन् ।
के–टु आरोहणका लागि जोखिमयुक्त हिमाल भएकैले किलर माउन्टेनकोसमेत उपमा दिइएको छ। के–टुमा हालसम्म तीन नेपाली महिलाहरूले आरोहण गरिसकेका छन्। अब चौथो आरोहण गर्नेमा उनको नाम समावेश भएको छ ।
पुर्णिमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रामा आफ्नै गोरखामा रहेको मनास्लुबाट सुरू गरेकी थिइन्।
उनले २०७४ मा मनास्लुको सफल आरोहण गरेकी थिइन् भने २०७५ मा नै उनले सगरमाथाको आरोहण गरेकी थिइन्।
त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि चढिन्। र अन्नपूर्ण र धौलागिरि चढ्ने उनी पहिलो नेपाली महिला समेत बनिन् ।