४ वटा रोविन्सन हेलिकोप्टर बेचेर २ वटा नयाँ हेलिकोप्टर किन्दै प्रभु


टुरिजम पाना संवाददाता काठमाडौं । ४ चैत्र २०७९

प्रभु हेलिकोप्टरले आफ्ना चार वटा हेलिकोप्टर बेचेर दुई वटा नयाँ हेलिकोप्टर किन्ने भएको छ । जसका लागि हेलिकोप्टर बिक्री प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको कम्पनीका नायब महाप्रबन्धक नोवलकुमार राजलावतले टुरिजम पानालाई जानकारी दिए ।

कम्पनीले चार हेलिकोप्टरमध्ये तीनवटा आर ६६ र एउटा आर ४४ सिरिज बिक्री गर्न लागेको हो । यी हेलिकोप्टरहरू बेचेर एयरबस एएस ३५० बी थ्री इ सिरिजका दुई वटा हेलिकोप्टर किन्न लागिएको नायब महाप्रबन्धक राजलावतले बताए ।

टुरिजमपानासँग उनले भने, ‘बिक्री प्रक्रिया लगभग अन्तिम चरणमा छ । एयरबस एएस ३५० बी थ्री इ सिरिजका दुई वटा हेलिकोप्टर किन्ने छौं ।’ हाल कम्पनीसँग पाँच वटा रोविन्सन हेलिकोप्टर रहेका छन् । जसमध्ये चारवटा बेच्न लागिएको उनले बताए । कम्पनीले रोविन्सन सिरिजका हेलिकोप्टरको भन्दा बढी क्षमताको हेलिकप्टर ल्याउन लागेको हो ।

रोविन्सन कम्पनीका चार सीट (तीन यात्रु र एक क्याप्टेन) क्षमताको आर ४४ सिरिजको हेलिकोप्टरको उचाइ क्षमता आठ हजार मिटर मात्र रहेको छ । अब यी हेलिकोप्टर बेचेर उचाइ क्षमता बढी रहने नयाँ हेलिकोप्टर किन्न लागिएको राजलावतको भनाइ छ ।

चारवटा बिक्री भएपछि कम्पनीसँग एउटा एयरबस र एउटा रोविन्सन आर ६६ सिरिजको हेलिकोप्टर बाँकी हुनेछ । यी हेलिकोप्टर बिक्रीपछि नयाँ एयरबस खरिद प्रक्रिया छिट्टै अगाडि बढाइने राजलावतले बताए । ‘व्यवसायिक योजना अनुसार कम्पनीले दुईमध्ये एउटा एयरबसको हेलिकोप्टर छिट्टै ल्याइनेछ’, उनले भने । नयाँ एयर बसले २३ हजार मिटरसम्म उड्न सक्नेछन् ।

प्रभु हेलिकोप्टर बैंक तथा वित्तीय संस्थामा सफल रहेको प्रभु समूह अन्तर्गत रहेको कम्पनी हो । सन् २०१५ मा मुक्तिनाथ हेलिकोप्टर खरिद गरि कम्पनीले व्यवसाय सुरू गरेको थियो ।

सुरूमा एउटा मात्र रोविन्सन हेलिकोप्टर रहेको कम्पनीले पछि सन् २०१६, २०१७ र २०१८ मा क्रमश १, १ र २ वटा रोविन्सन किनेको थियो । कम्पनीले अहिले सन् २०१८ मा किनेको रोविन्सन हेलिकोप्टरमात्र चलाएर अन्य बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो ।

४ चैत्र २०७९