प्रदेश नं १ मा आउने पर्यटककको संख्यामा उत्साहजनक वृद्धि

भारतबाट आउने पर्यटक ५४१ प्रतिशतले वढे


टुरिजम पाना विराटनगर । २० मंसिर २०७९
Province 1
प्रदेश नं १ को पर्यटकीय गन्तब्य इलामको कन्याममा रमाउँदै पर्यटक (फाइल तस्वीर )

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं १ मा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक गतिविधि अध्ययन अन्तर्गत प्रदेश नं १ को आर्थिक वर्ष २०७८/७९ को अध्ययन प्रतिवेदन सार्बजनिक गदै पर्यटकको संख्यामा वृद्धि भएको जनाएको हो ।

आर्थिक वर्ष २०७७।७८ को तुलनामा समीक्षा बर्षमा भारतबाट आउने पर्यटकको संख्यामा ५४१.५ प्रतिशत, चीनबाट आउने पर्यटकको संख्यामा १३६ प्रतिशत र तेश्रो मुलुकबाट आउने पर्यटकको संख्या ३८.३ प्रतिशतले वढेको रिपोर्टमा उल्लेख छ । अघिल्लो बर्षमा भने सोही अवधिमा क्रमशः भारत, चीन र तेश्रो मुलुकबाट आउने पर्यटको संख्या १७.७, २६.३ र ४.१ प्रतिशतले घटेको थियो ।

विराटनगर तथा काँकडभिट्टा नाकामा आवागमन सहज भएसँगै धार्मिक तथा मनोरञ्जन गर्ने उद्देश्यले प्रदेश नं १ मा पर्यटकको संख्यामा वृद्धि भएको बताईएको छ । यसरी समिक्षा बर्षमा प्रदेश नं १ मा भित्रिएका पर्यटकहरुमा भारतबाट ८०.६ प्रतिशत, चीनबाट ७.० प्रतिशत र तेस्रो मुलुकबाट १२.४ प्रतिशत रहेका छन् ।

होटलमा वढ्यो रोजगारी

समीक्षा अवधिमा यस प्रदेशका होटलहरुमा आन्तरिक पर्यटकको संख्या ५८.४ प्रतिशतले बढेको पनि रिपोर्टले देखाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ३३.० प्रतिशतले घटेको थियो । यस्तै प्रदेशका होटलहरुमा बाह्य पर्यटक आगमन संख्या ३०८.३ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो । कोरोना महामारीको प्रभाव कम भएसँगै विदेशी पर्यटकको आगमनमा वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा पर्यटकस्तरीय होटलमा थप ५१.२ प्रतिशतले रोजगारी प्राप्त गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २१.१ प्रतिशतले रोजगारी गुमाएका थिए ।

लगानी, सुविधा र सेवाको स्तरका आधारमा नमूना छनोट गरिएका यस प्रदेशका १० वटा पर्यटकस्तरीय होटेलमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले अध्ययन गरेको थियो ।

पुनरुत्थानको अवस्थामा पर्यटन क्षेत्र

कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्र आर्थिक वर्ष २०७८/७९ मा पुनरुत्थानको अवस्थामा रहेको देखिएको छ ।

महामारी अवधिभर शून्य प्राय रहेको पर्यटकस्तरीय होटल व्यवसायको कारोवार समीक्षा अवधिमा धार्मिक तथा मनोरञ्जन गर्ने उद्देश्यले भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएसँगै विस्तार भएका र प्रदेश नं. १ मा होटलहरुको औसत अकुपेन्सी दर ४०.४ प्रतिशत रहेको देखिएको हो ।

जुन अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरुको औसत अकुपेन्सी दर जम्मा १४.८ प्रतिशत रहेको थियो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा होटलको शैया संख्या ०.४ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा होटलहरुको शैया संख्या यथावत रहेको छ ।

२० मंसिर २०७९