रसुवागढीको मितेरी पुल बाढीले बगायो, पर्यटक आगमन ठप्प


टुरिजम पाना संवाददाता रसुवा । २४ असार २०८२

नेपाल–चीन सीमास्थित रसुवागढीको मितेरी पुल आज बिहान आएको भीषण बाढीले बगाएपछि विशेषगरी पर्यटक आवागमनमा ठूलो असर परेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित यो पुल मानसरोवर यात्राका लागि प्रयोग हुने प्रमुख मार्गमध्ये एक हो ।

भोटेकोशी नदीमा बिहान ३ः१५ बजे आएको बाढीले पुललाई बीचबाटै भाँचेर बगाएको हो । यसबाट रसुवागढी नाका हुँदै चीनतर्फ जान र फर्कन प्रयोग हुने मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनको तिब्बत क्षेत्रमा परेको अविरल वर्षाका कारण बाढी आएको बताइएको छ ।

प्रत्येक दिन ५०० देखि १,००० सम्मको संख्यामा पर्यटक ओहोरदोहोर गर्ने यस नाकाबाट विशेषतः भारतीय र चिनियाँ पर्यटकले मानसरोवर जान प्रयोग गर्ने गर्दथे । पुल बगेसँगै केही भारतीय पर्यटक चीनतर्फ नै रोकिएका छन् ।
बाढीले टिमुरेस्थित भन्सार यार्डसहितका संरचनामा पनि ठूलो क्षति पु¥याएको जनाइएको छ । स्थानीय प्रशासन, नेपाली सेना र सशस्त्र प्रहरी बल अहिले उद्धार तथा क्षतिको मूल्याङ्कनमा खटिएका छन् ।

नाका अवरुद्ध हुँदा नेपालको धार्मिक तथा साहसिक पर्यटन प्रवद्र्धनमा गम्भीर असर पर्ने देखिएको छ । मानसरोवर यात्राका लागि वैकल्पिक मार्ग नहुँदा पर्यटकहरू अन्य मुलुकहरूबाट चीन प्रवेश गर्न बाध्य हुने सम्भावना बढेको छ ।

२४ असार २०८२