नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूले आफूसँग बाँकी रहेको नेपाली रुपैयाँलाई विदेशी मुद्रामा फिर्ता साट्न अब अन्तर्राष्ट्रिय विमानस्थल नै पुग्नुपर्ने बाध्यता हटेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै पर्यटकहरूलाई इजाजतपत्र प्राप्त वाणिज्य बैंक र विकास बैंकहरूबाटै सटही सुविधा लिन पाउने नयाँ व्यवस्था गरेको हो।
यसअघि पर्यटकहरूले आफूसँग बाँकी रहेको नेपाली रुपैयाँ साट्न अनिवार्य रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा रहेको सटही काउन्टरमा नै जानुपर्ने व्यवस्था थियो। जसका कारण अन्तिम समयमा पर्यटकहरूले लामो लाइन बस्नुपर्ने र झन्झट खेप्नुपर्ने अवस्था थियो।
नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले विमानस्थलको काउन्टरका अतिरिक्त आफूलाई पायक पर्ने कुनै पनि वाणिज्य बैंक वा राष्ट्रिय स्तरका विकास बैंकमा गएर नेपाली रुपैयाँलाई विदेशी मुद्रामा साट्न सक्नेछन्। बैंकबाट सटही गर्दा विदेशी नागरिकले आफ्नो राहदानी र हवाई टिकटको प्रतिलिपि पेश गर्नुपर्नेछ। विमानस्थलको काउन्टरमा साट्दा भने राहदानी र बोर्डिङ पास भए पुग्नेछ।
तर, अमेरिकी डलर १०० वा सो बराबरको सानो रकम सटही गर्नका लागि पहिले पैसा झिकेको वा साटेको रसिद आवश्यक पर्ने छैन। १०० डलरभन्दा बढी रकम साट्नुपरेमा भने पहिले एटिएमबाट पैसा झिकेको वा बैंकमा डलर साटेको आधिकारिक रसिद अनिवार्य बुझाउनुपर्नेछ।








