लमजुङको लिपे लेक ट्रेकिङ प्रवर्द्धनका लागि राउन्ड ट्रेक कार्यक्रम सम्पन्न


टुरिजम पाना लमजुङ । ८ फाल्गुन २०७९

लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य ‘लिपे लेक’ लाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम सम्पन्न भएको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि शुरू गरेको राउन्ड ट्रेक कार्यक्रम आज सकिएको हो ।

ट्रेक कार्यक्रम नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुगेर सम्पन्न भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधिसहित २५ जनाको सहभागीता रहेको थियो ।

टान गण्डकी अध्यक्ष धर्मराज पन्थी, नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा दोर्दी पालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विक्षबहादुर घले लगायत अन्य पर्यटन व्यवसायी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संयोजन टान गण्डकीका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका थिए ।

राउन्ड ट्रेकको पहिलो दिन शुक्रबार इलम पोखरीमा क्याम्पिङ गरेका थिए । नयाँ रुटलाई एक्स्प्लोर गर्ने टान गण्डकीको उद्देश्य राखेको थियो भने गाउँपालिकाले पनि आफ्नो ठाउँमा भएका पर्यटकीय स्थानहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको कार्यक्रम शुरु गरिएको हो । लिपे लेक हिमालहरूको मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध मानिन्छ ।

माछापुच्छ्रे, हिमचुली हिमाल, मनास्लु, गणेश हिमालको अद्भुत दृष्यहरू लिपे लेकबाट देख्न सकिन्छ । साथै काठमाडौंको शिवपुरीसमेत यहाँबाट देख्न सकिन्छ ।

८ फाल्गुन २०७९