ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान) को नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी चलिरहेको छ । टानको भदौ १७ मा हुने ४६ औं बार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
नयाँ नेतृत्वमा पुग्न विभिन्न पर्यटन व्यवसायीहरूको कसरत बढिरहेको छ । त्यसैमध्येका एक हुन् सागर पाण्डे । यसअघि टानको महासचिव भइसकेका उनी ३० वर्षभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय व्यवसायी हुन् ।
पाण्डे राहत तथा उद्दार अक्षयकोषको स्थापना, कानूनी परामर्श इकाईको गठन, बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई स्थापना लगायतका एजेण्डासहित चुनावी मैदानमा उत्रिएका हुन् ।
ट्रेकिङ क्षेत्रका सबै कर्मचारी तथा मजदुरका लागि राहत तथा उद्धार अक्षय कोषको जरुरी रहेको उनको भनाइ छ । त्यसका लागि आफूले काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् ।
‘टानका सदस्य कम्पनीका कर्मचारी, ट्रेकिङ गाइड, मजदुर जुनसुकै बेला घाइते हुने, मृत्युसम्म हुने अवस्था आउने गरेको छ । त्यस्तो समस्यामा पीडितहरुलाई सहयोग गर्नुपर्छ र त्यसका लागि अक्षयकोष चाहिन्छ,’ उनले भने । व्यवसायीहरुलाई कुनै पनि बेला दीर्घ रोग वा महंगो उपचार गर्नुपर्ने बिरामी परेको अवस्थामा पनि अक्षय कोषले राहत दिने उनले बताए ।
पाण्डेले टानमा एउटा अलग विभागका रुपमा कानूनी परामर्श इकाइको आवश्यकता महशुस गरी इकाई गठन गर्ने बताए । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनका क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्यारा र कठिनाई तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउने उनकी भनाइ छ । यी कामले टान थप व्यवस्थित बन्ने र गरिमा झनै बढ्ने उनले बताए ।
को हुन् सागर पाण्डे ?
टानको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका पाण्डे ट्रेकिङसँगै होटल, रेष्टुरेन्ट र पर्वतारोहण क्षेत्रमा पनि संलग्न छन् ।
२०२८ सालमा जन्मिएका पाण्डेको बाल्यकाल गोरखा भीमसेन थापा गाउँपालिका-६ अस्राङमै बित्यो । २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट विएस्सी उत्तीर्ण गरेपछि पाण्डे पर्यटन क्षेत्रमा लागेका हुन् ।
विएस्सीसम्मको पढाई सकेपछि साथीहरुसँगको सहकार्यमा उनले हार्ड रक ट्रेक्स एण्ड एक्पीडिसन सञ्चालनमा ल्याए । त्यसपछि सन् १९९८ मा उनले हिमालयन ग्ल्यासियर ट्रेकिङ स्थापना गरे । उक्त ट्रेकिङ कम्पनी हालसम्म पनि सञ्चालनमा छ ।
ट्रेकिङसँगै पाण्डे हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गरे । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेका पाण्डेका हाल होटल मुनलाईट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौँ होटल, काठमाडौँ ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालनमा छन् ।
पाण्डेले आफ्ना कम्पनीमा करिब पाँच सयभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
ट्रेकिङ कम्पनी स्थापना भएदेखि नै टानमा सक्रिय पाण्डे सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव थिए ।
महासचिव हुँदा नेपालको पर्वतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा मुख्य भूमिका निर्वाह गरेका थिए । पाण्डेले आगामी सन् २०२४ देखि २०२६ का लागि अध्यक्षको उम्मेदवारी दिन लागेका हुन् ।