को हुन् टानमा उपाध्यक्षको आकांक्षी सनम शेर्पा ?


टुरिजम पाना काठमाडाैँ । २५ श्रावण २०८१

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को आसन्न चुनावका लागि यतिखेर ट्रेकिङ व्यवसायीहरूले चहलपहल थालेका छन् । ट्रेकिङ ब्यवसायीहरुको छाता संगठनको रुपमा रहेको टानमा हुने यस चुनाव पर्यटन व्यवसायीहरूका लागि विशेष हो । यसको नेतृत्वमा पुग्नका लागि पर्यटन व्यवसायीहरू मैदानमा होमिएका छन् ।

यसै बीचमा लामो समयदेखि पर्यटन तथा ट्रेकिङ व्यवसायमा काम गर्दै आएका व्यवसायी सनम शेर्पाले टानको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अगाडि बढेका छन् ।

शेर्पा समूदायको न्यून प्रतिनिधित्व भइरहेको अहिलेको अवस्थामा टानमा उनको उम्मेदवारीलाई धेरैले चासोका साथ हेरिरहेका छन् । किनकी ट्रेकिङ व्यवसायमा शेर्पा समूदायबाट धेरै व्यवसायीहरू रहेपनि टानमा प्रतिनिधिका रुपमा भने शेर्पाहरु कमै छन् । त्यसकारण पनि सनम टानको आसन्न निर्वाचनमा आकर्षणका पात्र हुन् ।

को हुन् सनम ?

नेपालको ट्रेकिङ व्यवसायकै हटस्पट खुम्बु क्षेत्रमा सनमको जन्म भएको हो । उनी त्यही माटोमा हुर्किए । त्यसपछि ट्रेकिङ व्यवसायलाई नै अगाडि बढाउँदै आइरहेका छन् । सनमको जन्म सालमा सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिका वडा नम्बर ३ मा (साविकको चौंरिखर्क ) मा भयो । यस ठाउँ सगरमाथा बेसक्याम्पको मुख्य प्रवेश द्वार हो ।

उनका बुबा दा ग्याल्जिङ शेर्पा लामो समयदेखि पर्यटन व्यवसायमा निरन्तर लागिरहेका थिए । सगरमाथा जाने मुख्य प्रवेशद्वारको रुपमा प्रसिद्ध खुम्बु क्षेत्रमा बुवाको व्यवसाय र पर्यटकीय चहपहल हेर्दै सनम हुर्किए । उनका बुबाले खुम्बु पुगेका पर्यटकहरूको भारी बोक्ने काम गर्ने गरेका थिए । त्यतिखेर सनमले पर्यटनलाई बाल्यावस्थामै नजिकबाट नियाल्न पाए । जसले गर्दा उनको मनमा यसप्रति चासो पर्दै गएको थियो ।

तर केही समयपछि उनीहरूको परिवार बसाईं सरेर काठमाडौं आए । काठमाडौंमा उनीहरूले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरे ।

सोही समयमा अर्थात् विद्यार्थी जीवनमा उनले मार्सल आर्ट सिक्न थाले । उनी विस्तारै खेलकुदमा रमाउँदै जाँदा उनको बुवाले उनलाई ट्रेकिङमा आउन सुझाव दिइरहन्थे । शेर्पाहरूमध्ये ट्रेकिङ बाहेक अन्य पेसामा जाने एकदमै कम हुन्थे । त्यसैले उनका बुवाले उनलाई ट्रेकिङमै फर्कन भने । त्यसपछि बुवाको कुरालाई स्विकार्दै उनले खेल छाडेर एसिस्टेन्ट गाइडको रुपमा काम गर्न सुरू गरे । त्यतिखेर उनको उमेर २० वर्षमात्रै थियो ।

सनमले एसिस्टेन्ट गाइडको रुपमा आफ्नै काकाहरूसँग काम गरेको उनले सुनाए । त्यहाँ केही वर्ष काम गरेपछि उनले आफ्दै दाइले सञ्चालन गर्दै आएको हिमालयन शेर्पा एड्भेञ्चरमा काम गरे । त्यहाँ उनले बेसक्याम्पसम्म ट्रेक जानेहरूलाई गाइड गरे । उनले त्यहाँ १० वर्ष काम गरे । त्यसपछि भने उनले सन् २००७ मा आफ्नै कम्पनी अल अराउण्ड ट्रेक्स सुरू गरे । कम्पनीले अहिले पनि ट्रेकिङको काम गर्दै आएको छ ।

उनले याङ्कु साम्बाला अपार्टमेन्ट एण्ड रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् । नक्साल, कालोपुल लगायतका ठाउँमा आफ्नो बुवाले सुरु गरेको रेस्टुरेन्टमा उनले काम गरे । त्यसपछि कपनमा उनले आफैं रेस्टुरेन्ट सञ्चालन गरे । यसबाहेक उनले विभिन्न समाजसेवाको काम समेत आवद्ध हुँदै आइरहेका छन् । उनी शेर्पा पर्यटन व्यवसायी संघका उपाध्यक्ष समेत हुन् । यस्तै टानकै बोर्ड सदस्यमा सन् २०१९ देखि सन् २०२२ सम्म काम गरेको अनुभव उनीसँग छ । यसबाहेक उनी शेर्पा समूदायको विभिन्न समूहहरूमा आवद्ध छन् । यी सबै अनुभवका आधारमा आफू टानको उपाध्यक्षको योग्य उम्मेदवार भएको उनले बताए ।

नेपालको ट्रेकिङ व्यवसायमा सबैभन्दा ठूलो योगदान कतैबाट छ भने त्यो शेर्पा समुदायबाट छ । टानमा यो समूदायबाट प्रतिनिधित्व एकदमै कम छ । त्यसकारण पनि शेर्पा पर्यटन व्यवसायीले आफ्नो समग्र शेर्पा समूदायको उम्मेदवारको रुपमा सनमलाई अगाडि सारेका छन् ।

के छन् सनमका एजेण्डा ?

उमेरले साँढे दुई दशक पार गर्दै गर्दा आफ्नो जिवनको आधा भन्दा बढी समय उनले यो ब्यवसायमा ब्यतित गरिसकेका छन् । यसै ब्यवसायमा आफ्नो ट्रेकिङ व्यवसायमा रहेका विकृति र विसंगतीहरूको नजिकैबाट पहिचान गरेका सनम टानको उपाध्यक्षमा पुग्न चाहन्छन् । पदमा पुगेपछि ट्रेकिङ क्षेत्रका समस्याहरु समाधान सँगै विकृति विसंगति हटाउन काम गर्ने उनको एजेण्डा हो ।

यस्तै यस क्षेत्रको विकास र विस्तारका लागि उपयुक्त नीति निर्माणमा दवाव दिन पनि आफू टानमा उम्मेद्बारी घोषणा गरेको उनी बताउँछन् । निर्वाचन जितेमा यस्ता विषयवस्तुमा निरन्तर आवाज उठाउने र नीति निर्माणका लागि दवाव दिने उनको योजना छ । यसबाहेक समग्र पर्यटन क्षेत्रको विकास र समृद्धिमार्फत यस क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सहजीकरण गर्ने उनको योजना रहेको छ ।

२५ श्रावण २०८१