त्रिवेणी पाटनमा स्किको आधारभुत तालिम सम्पन्न


टुरिजम पाना संवाददाता कालिकोट । ६ चैत्र २०८०

सुर्खेत । पर्यटकीय गन्तव्य त्रिवेणी पाटनमा साहसिक खेल स्किको आधारभुत तालिम सम्पन्न भएको छ ।

फागुन २८ गते देखि सञ्चालन भएको स्कि खेल चैत ४ गते सम्पन्न भएको हो ।

पछिल्लो केही समययता नेपाल साहसिक स्कि पर्यटनको राम्रो गन्तव्य बन्दै गइरहेको समयमा कालिकोटको रास्कोट नगरपालिकामा रहेको त्रिवेणी पाटन, छेत्तडि पाटन र सान्नित्रिवेणी गाउँपालिकाको लेकाली भेगमा स्कि खेल खेलाउन सकिने भन्दै तालिमको आयोजना गरेको हो ।

विदेशमा खेलिने स्कि खेल कर्णालीको हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्कि खेलको विस्तार भइरहेको छ । हिउँमा चिप्लिएर खेल्ने खेल त्रिवेणी पाटनमा निकै सम्भावना रहेको नेपाल स्की एसोसिएसन कर्णाली प्रदेश सचिव मनराज सिम्खडा जानकारी दिए ।

त्रिवेणीमा हिउँदको समयमा मात्रै स्कि खेल सञ्चालन गर्न सकिने सम्भावना रहेको सचिव सिम्खडाले बताए । कालिकोटको रास्कोट नगरपालिकाको त्रिवेणी पाटन र छेत्तडिमा भएको उक्त तालिममा ४ जना प्रशिक्षकले २० जना सहभागीहरुलाई प्रशिक्षण गरेका थिए ।

नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, नेपाल स्की एसोसिएसन कर्णाली प्रदेशको समन्वय र रास्कोट नगरपालिकाको सहयोग रहेको नेपाल स्की एसोसिएसन कर्णाली प्रदेश सचिव मनराज सिम्खडाले जानकारी दिए ।

६ चैत्र २०८०