कमलादीको स्काइ वाक टावर जनवरीदेखि सञ्चालनमा आउने, यस्ता छन् विशेषता


टुरिजम पाना काठमाडाैं । १३ मंसिर २०७९
sky walk tower kamaladi

काठमाडौंको कमलादीमा बनिरहेको स्काई वाक भ्यु टावर जनवरीदेखि सञ्चालनमा आउने भएको छ । वन्डर्स नेपालले निर्माण गरेको टावर नयाँ वर्षको अवसर पारेर अवलोकनका लागि खुला गर्न लागिएको निर्माण कम्पनीले जनाएकाे छ ।

टावरको माथि सिसाहरु फिट गर्ने र फिनिसिङको काम बाँकी भइरहेको सञ्चालक टिमका सदस्य दामोदर न्यौपानले जानकारी दिए । टावर सञ्चालनमा आएपछि सो टावर चढ्नको लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्नेछ । टावरमा चढ्ने व्यक्तिहरूकाे सुरक्षा जाँच समेत गरिनेछ ।

टावरकाे तल पार्किङ, बगैँचा र  व्यापारिक प्रयाेजनका लागि ३८ वटा सटर निर्माण गरिएकाे छ  । ती सटरमा व्यापार गर्न चाहनेका लागि हालै वन्डर्स नेपालले बुकिङ खुला गरेकाे छ ।

न्यौपानेका अनुसार ७८ मिटर अग्लो टावरको माथि दुई तलामा एक सयभन्दा बढी मानिसहरू अटाउने रेस्टुरेन्ट रहनेछन् । भुँईतलाबाट लिफ्ट चढेर ६८ मिटरमाथि पुगिनेछ । त्यहाँ सभा हल र रेस्टुरेन्ट हुनेछन् ।

टावरको सबैभन्दा माथि ४२ स्क्वायर मिटरमा पारदर्शी सिसामा हिँड्दा आकाशमै हिँडेको जस्तो अनुभूति हुने र काठमाडाैं उपत्यकाकाे दृश्य अवलाेकन गर्न सकिन्छ ।

‘पारदर्शी सिसा राखिएकाे ठाउँमा एकपटकमा ५०० जनासम्म चढ्न सक्छन् र माथि जाने दुई वटा लिफ्टमा एकैपटक २४/२४ जना माथि जान सक्नेछन्’ न्याैपानेले भने । काठमाडाैं उपत्यकाकाे केन्द्रमा नै सुरक्षित साहसिक पर्यटकीय गन्तव्य र मनोरन्जनको केन्द्र बनाउने योजनाअनुरूप कम्पनीले टावर निर्माण गरेको न्यापानेले बताए ।

२०७७ सालबाट १३ रोपनी जग्गामा निर्माण थालिएकाे टावरमा स्टिलको प्रयोग गरिएको छ ।  २ अर्बकाे अनुमानित बजेटमा काम सुरू गरिएकाे टावरमा अहिलेसम्म ९० कराेड खर्च भएकाे निर्माण टिमले जानकारी दिएकाे छ ।

१३ मंसिर २०७९