सोक्ला ‘रक क्लाइम्विङ महोत्सव’ सम्पन्न


टुरिजम पाना संवाददाता काठमाडौं । २२ जेष्ठ २०८०

सोक्ला गाउँमा ‘रक क्लाइम्विङ महोत्सव २०८०’ सम्पन्न भएको छ। सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा रक क्लाइम्बिङ महोत्सव २ दिन गरिएको थियो।

श्रोत साधनको खोजी गरौ, सहासिक खेल पर्यटनलाई प्रवर्धन गरौ’ नाराको साथ १८ र १९ गते २ दिन जिल्लामा पहिलो पटक सदरमुकाम चरिकोटबाट ८ किमी दुरीमा रहेको सोक्ला गाउँमा आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन गर्दै नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले रक क्लाइम्विङ गतिविधिले दोलखाको ‍पर्यटनलाई टेवा पुग्ने बताए।

रक क्लाइम्विङ एउटा खेल पर्यटनको हिस्सा भएकोले यसलाई प्रडक्टको रुपमा प्रवर्दधन गर्न वोर्डले सक्दो सहयोग प्रतिवद्दता गरेका छन् ।

सोक्ला गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ।

यहाँ सत्य युगमा तामाकोसी रोकेर ताल बनाउनका लागि कालिञ्चोक क्षेत्रबाट आएका डिलढुंगाहरु अहिले पनि इतिहास भएर उभिएका छन् ।

कार्यक्रममा दोलखा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, भीमेश्वर नगरपालिकाका उप-प्रमुख कमला वस्नेत, ग्रामिण पर्यटन विकास समाज(भिटोफ) का प्रथम उपाध्यक्ष , जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी लगायतले महोत्सवको प्रसंसा गर्दै मन्तव्य व्यक्त गरेका थिए।

भीमेश्वर नगरपालिका आफैमा धार्मिक पर्यटकीय गन्तव्य रहेको र रक क्लाइम्विङले नयाँ पर्यटन गन्तव्य हुने समेत उनिहरुको धारणा रहेको छ।

सदरमुकाम चरिकोटबाट ८ किमी दुरीमा रहेको सोक्ला गाउँलाई क्लाइम्बिङ हवका रूपमा बनाउने उद्देश्य साथ दुई दिने महोत्सव आयोजना गरिएको समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए।

४०० मिटर उचाईमा रहेको सोक्लाको भीरमा हाललाई २५ मिटर क्लाइम्विङको ३ वटा रुट निर्माण गरिएको छ।

रक क्लाइविङ महोत्सवमा स्कुलका विद्यार्थी, स्काउट टोलि, नेपाल प्रहरी, पर्यटन प्रहरी, शसस्त्र वल प्रहरी, नेपाल आर्मी टिम सहित स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

२२ जेष्ठ २०८०