‘स्पार्क एड्भेन्चर’ अन्तर्गत आन्तरिक पर्यटन प्रवर्द्धन गर्न २०० जना बढी सहभागी शैलुङमा


टुरिजम पाना शैलुङ, दोलखा । ११ आश्विन २०८०

दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले आयोजना गरेको ‘स्पार्क एड्भेञ्चर २०२३’ अन्तर्गत २०० जना बढी सहभागी शैलुङमा पुगेका छन् ।

बिहीबार बिहान धुलिखेलको पञ्चेबाजा सहित स्पार्क एडभेञ्चरको उद्घाटन गरि टोलीले सैलुङको यात्रा सुरू गरेको थियो ।

सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो । यस्तै यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसावले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

‘यसपटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौँ, यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौँ,’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने ।

प्रचुर पर्यटकीय संभावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्धप्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत गरेका थिए । त्यहाँको स्थानीय परिकारको स्वाद लिई टोली शैलुङ पुगेको छ ।

शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिएको थियो । टोलीले आज साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउने कार्यक्रम छ ।

चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ‘वाइल्ड स्टे विथ चौँरी’ राखिएको छ ।

कार्यक्रममा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री लगायतका कलाकार सहभागी छन् ।

कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने ३ दिने कार्यक्रममा लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ ।

कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कुटनैतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागीता रहेको छ ।

यस किसिमको सहभागीता मुलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दावी बताएको छ ।

शैलुङतर्फको यात्रामा सहभागीहरू निकै उत्साहित छन् । ‘साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत आउन पाउँदा एकदम खुशी छु,’ क्याप्टेन लामाले भने ।

अध्यात्म र प्रकृतिसँग रमाउने एक्सन स्टार निखिल उप्रेतीले आफू भगवान बुद्धले टेकेको भूमिमा आउन पाउँदा निकै नै उत्साहित भएको बताए ।

असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरू गरेको यस समूहले असोज १२ गते चौँरी गोठ र शैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।

११ आश्विन २०८०